Butwal Today

रातिको हावाहुरीले उडायो गाउँका छाना

१३ जेष्ठ २०८३, बुधबार
अ+
अ-

गुल्मी  । सोमबार राति आएको पानी सहितको हावाहुरीका कारण गुल्मीका विभिन्न पालिकामा घर, गोठ, विद्यालय तथा अन्य संरचनामा व्यापक क्षति पुगेको छ ।

जिल्लाको मदाने, मुसिकोट, मालिका, इस्मा र छत्रकोट गाउँपालिकाका विभिन्न स्थानमा गरी एक सयभन्दा बढी घर तथा संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार हावाहुरीबाट सबैभन्दा बढी क्षति मालिका गाउँपालिका–७ भानुपोखरामा पुगेको छ । त्यहाँ मात्रै ४५ वटा घर, गोठ, विद्यालय, सहकारी भवन, मन्दिर तथा शौचालयमा क्षति पुगेको बताइएको छ । देविस्थान माध्यमिक विद्यालय, भैरवकाली बोर्डिङ स्कुल, कृषि तथा पशु विकास महिला सहकारी संस्था र घिमिरे कुलपुजाको मन्दिर समेत प्रभावित भएका छन् ।

त्यसै गरी मालिका गाउँपालिका–४ र ५ मा २१ वटा घर, गोठ तथा विद्यालयको शौचालयमा क्षति पुगेको छ । तीमध्ये अधिकांश घरका टिनका छाना उडेका छन् भने केही गोठ तथा खरका छाना समेत नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मुसिकोट नगरपालिका–२ भेडीमा तीन वटा घरका टिनका छाना पूर्ण रूपमा उडेको प्रहरीले जनाएको छ । प्रभावित हुनेमा शुक्र बहादुर दमाई, विमल सुनार र लालबहादुर सुनार रहेका छन् ।

त्यस्तै तिम्ले प्रावि र थामडाँडा सहरी स्वास्थ्य केन्द्रको भवनको छाना पनि हावाले उडाएको छ । त्यस्तै छत्रकोट गाउँपालिका–४ श्रृङ्गाको श्रृङ्गा जनता माविको छाना पनि हावाले उडाएको प्रहरीले जनाएको छ ।

मदाने गाउँपालिका–१ मा पनि हावाहुरीले आठ घर तथा गोठमा क्षति पु¥याएको छ । नेपाने र ओखलेदह क्षेत्रमा ढुङ्गा, टिन तथा खरका छाना उडेको प्रहरीले जनाएको छ ।

इस्मा गाउँपालिका–४ र ५ तथा मालिका गाउँपालिका–६ मा आठ घर तथा एउटा विद्यालयमा क्षति पुगेको छ । सूर्योदय प्राथमिक विद्यालयको टिनको छाना पूर्ण रूपमा उडेको छ भने केही घरका छाना उड्दा खाद्यान्न समेत भिजेर नष्ट भएको प्रहरीले जनाएको छ ।

छत्रकोट गाउँपालिका–४ स्थित श्रृङ्गा जनता माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला भवनको टिनको छाना पनि हावाहुरीले पल्टाएको छ । घटनापछि विभिन्न प्रहरी चौकी तथा अस्थायी प्रहरी पोष्टबाट टोली खटिएर स्थलगत निरीक्षण गरेको जिल्ला प्रहरी कार्यालय गुलमीका प्रहरी उपरीक्षक भिमकिरण बोगटीले बताएका छन् ।

उक्त घटनामा भौतिक संरचनाहरूमा ठुलो क्षति पुगे पनि मानवीय तथा पशु चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?