Butwal Today

‘मातृभूमिको माया विदेशमा रहनेलाई थाहा हुन्छ’

१३ जेष्ठ २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित ‘हाम्रो क्लब’ले अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीको हकहित र अधिकारका पक्षमा सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

क्लबद्वारा यहाँ आयोजित विशेष कार्यक्रमका वक्ताहरूले अस्ट्रेलियामा रहेको नेपाली समुदाय, मातृभूमि नेपाल र नेपाली जनताका पक्षमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशमा रहे पनि आफूहरूमा नेपालीपन रहेको र नेपाली भनेर चिनिँदा गौरवको अनुभूति हुने बताउँदै उनीहरूले अस्ट्रेलियास्थित नेपाली समुदायको सुख दुःख बाँड्ने आशा र भरोसासहित साझा चौतारीका रूपमा ‘क्लब’लाई स्थापित गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा कार्यक्रमका सहजकर्ता दिनेश सापकोटाले मातृभूमिप्रतिको माया विदेशमा रहँदा थाहा हुने उल्लेख गर्दै आपसी सहयोग र सद्भाव कायम गरी नेपाली समुदायको उत्थानका पक्षमा ‘क्लब’ रहेको स्पष्ट पारे ।

क्लबका अध्यक्ष राजीव अधिकारीले अस्ट्रेलियन सरकारको विश्वास जिती अग्रजबाट प्राप्त सहयोग र सद्भावलाई समेत समेटेर यहाँ स्थित नेपाली समुदायको हकहितमा आफूहरू खटिरहेको जानकारी दिए ।

सो क्लबको पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजित सो कार्यक्रममा सांसद नाथन ह्यागार्टी, काउन्सिलर एलिजा रहमान, पूर्वकाउन्सिलर उषा डोम्माराजु, क्लबका संस्थापक अध्यक्ष अमूल्यप्रताप सिंहलगायत २०० भन्दा बढी नेपाली समुदायको उपस्थिति थियो । कार्यक्रममा ‘क्लब’को नयाँ वेबसाइट औपचारिक रुपमा सार्वजनिक गरिएको थियो ।

यसै गरी विविध खेलकुद प्रतियोगिता, गीतसङ्गीतसहित मनोरञ्जनात्मक कार्यक्रम र प्रतिभा सम्मान कार्यक्रमसमेत सो अवसरमा प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?