Butwal Today

सन्धिखर्क नगरपालिकाले प्रभावकारी बनायो अनुगमन

१२ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ले नगरभित्र सञ्चालन भइरहेका विकास निर्माणका योजनाको अनुगमन कार्यलाई थप प्रभावकारी बनाएको छ ।

विकास योजनालाई गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न गराउने उद्देश्यका साथ नगरपालिकाले योजना सुरुदेखि भुक्तानी प्रक्रियासम्म नियमित अनुगमनलाई तीव्रता दिएको योजना शाखा प्रमुख दिलीप केसीले बताएका छन् ।

नगरपालिकाले सडक, मोटर बाटो, खानेपानी, भवन निर्माण लगायतका पूर्वाधार योजनामा स्थलगत निरीक्षणलाई प्राथमिकता दिएको जनाएको छ । योजनाको प्राविधिक पक्ष, कार्य प्रगति, लागत तथा निर्माणको गुणस्तरलाई निरन्तर मूल्याङ्कन गर्दै आवश्यक निर्देशन दिइँदै आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले योजना सुरु भएदेखि अन्तिम भुक्तानीसम्म विभिन्न चरणमा अनुगमनलाई अगाडि बढाइएको बताए । उनले विकास निर्माणका काममा पारदर्शिता कायम गर्न र सार्वजनिक बजेटको सही उपयोग सुनिश्चित गर्न अनुगमनलाई व्यवस्थित बनाइएको उल्लेख गरे । “योजनाको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन अपरिहार्य हुन्छ, त्यसैले नगरपालिकाले यसलाई विशेष प्राथमिकतामा राखेको छ,” उनले भने ।

नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्यको संयोजकत्वमा रहेको अनुगमन टोलीले नगरका विभिन्न वडामा पुगेर योजनाको स्थलगत निरीक्षण गरिरहेको छ । उपप्रमुख आचार्यले अनुगमनलाई प्रभावकारी बनाउँदै योजनामा देखिएका कमजोरी सुधार गर्न तत्काल निर्देशन दिइएको जानकारी दिइन् । जनताको अपेक्षाअनुसार गुणस्तरीय विकास निर्माण सुनिश्चित गर्न नगरपालिकालागि परेको छ ।

योजना शाखा प्रमुख दिलीप केसीले नगरपालिकाका विभिन्न वडामा सञ्चालन भएका मोटर बाटो, खानेपानी लगायतका योजनाको अनुगमनलाई प्रभावकारी बनाइएको बताए । उनले योजनाहरू तोकिएको मापदण्डअनुसार सञ्चालन भइरहेका छन् कि छैनन् भन्ने विषयमा प्राविधिक टोलीले निरन्तर निरीक्षण गरिरहेको जानकारी दिए ।

सन्धिखर्क नगरपालिकाले आगामी दिनमा पनि विकास योजनाको नियमित अनुगमनलाई निरन्तरता दिँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?