Butwal Today

सडक असहज: सेवाग्राहीलाई समस्या

११ जेष्ठ २०८३, सोमबार
अ+
अ-
मुस्ताङ ।  जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने सडक असहज हुँदा सेवाग्राहीलाई असुविधा पुगेको छ ।
काली गण्डकी कोरिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले सडक स्तरोन्नति गर्ने क्रममा साबिकको सडकलाई ग्रेड डाउन गरिदिएपछि यहाँको प्रदेश अस्पताल आवतजावत गर्न कठिनाइ भएको हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले सडक अवरोधका कारण एम्बुलेन्स तथा अन्य हलुका सवारीसाधन सञ्चालन हुन नसकेको जानकारी दिइन । अस्पताल जोड्ने सडकको तीन वटा विकल्प प्रस्तुत गरिएको भए पनि हालसम्म समाधान निस्कन सकेको छैन ।
पहिलो विकल्प मुख्य राजमार्ग सडक उकासेर अस्पताल सडक सहज बनाउने, दोस्रो विकल्प आयोजनाको योजनाअनुसार व्यक्तिको घर अगाडिबाट अस्पतालको सडक लैजाने र तेस्रो विकल्प हाल प्रयोग भइरहेको सडकलाई फराकिलो बनाएर सडक सहज बनाउने विकल्प प्रस्तुत गरिएका थिए ।
सडक सञ्चालन गर्ने तीन विकल्पमध्ये कुनै पनि विकल्प कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश अस्पताल जाने सडकको विषयमा स्थानीय प्रशासन, गाउँपालिका र अस्पताल व्यवस्थापन समितिलगायत सरोकारवालाहरूको पटक/पटक वार्ता र संवाद भए पनि कुनै सहमति हुन नसकेको प्रदेश अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?