© 2026
जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने ७५ वर्षीय वृद्ध चन्देश्वर साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।
जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ख.४७५८ नम्बरको यात्रुवाहक बसले जलेश्वर नपा–२ स्थित मटिहानी चोकमा पैदल यात्री साहलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । बसको ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्री प्राथमिक उपचारपश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उनको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।
घटनापश्चात् जिल्ला प्रहरीबाट खटिगएको प्रहरी टोलीले बस र बस चालक जिल्लाको पिपरा गाउँपालिका–९ अलिपट्टि बस्ने सत्यनारायण यादवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक गोलेले बताए ।