© 2026
बुटवल । रुपन्देही उद्योग सङ्घको सहजीकरणमा घरेलु तथा साना उद्योग कार्यालय, सिद्धार्थनगर रुपन्देहीको आयोजनामा बुटवलमा एक दिने उद्यमीहरूलाई व्यवसायीक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजीकरण कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालाको उद्घाटन गर्दे कार्यक्रमका प्रमुख अतिथि रुपन्देही उद्योग सङ्घका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले आर्थिक विकासका लागि घरेलु तथा साना उद्योगको प्रवर्द्धन र संरक्षण आवश्यक भएको कुरामा जोड दिँदै देखासिकी गरेर कुनै पनि व्यवसाय नगर्न आग्रह गरे ।
अध्यक्ष पराजुलीले परम्परागत ढाँचामा उद्योग व्यवसाय सञ्चालन गर्दा हामीले प्रतिफल पाउन नसकेको बताउँदै आधुनिक प्रविधि र सञ्जालको उपयोग गर्न सबैले ध्यान दिनु पर्ने धारणा राखे ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय, सिद्धार्थनगर रुपन्देहीका वरिष्ठ शाखा अधिकृत मोहन परियारले दिँदै आएको सेवा र हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए भने नेपाल बैङ्क लिमिटेड, मणिग्राम शाखा प्रबन्धक सुरेन्द्र सिंह आलेले बैङ्किङ क्षेत्रबाट उद्योग व्यवसाय सञ्चालनका लागि गरिने ऋण लगानी प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा उद्योग तथा व्यवसाय सञ्चालन पूर्व बनाउनु पर्ने कार्य योजना र त्यस अनुसारको गतिविधि हुन नसक्दा लगानीको प्रतिफल पाउन नसकेको कुरामा ध्यान दिन आग्रह गरिएको थियो । सो अवसरमा राज्यले उद्योगी व्यवसायीहरूलाई दिने विभिन्न छुट र सेवाका विषयमा जानकारी गराउँदै त्यसको उपयोग गर्न अनुरोध गरिएको थियो ।
कार्यशालामा उद्योग तथा व्यवसाय सञ्चालन गर्दा अवलम्बन गर्नु पर्ने कानुनी प्रक्रिया तथा राज्यले दिएका अनुदान एवं सेवाहरूको सहजीकरणको लागि गरिएका व्यवस्थाका बारेमा छलफल गरिएको र कार्यक्रममा रुपन्देहीका विभिन्न क्षेत्रमा उद्योग व्यवसाय सञ्चालन गर्दै आएका महिला उद्योगी व्यवसायीहरू सहित ३ दर्जनको सहभागिता रहेको रुपन्देही उद्योग सङ्घका कार्यकारी प्रमुख यादव प्रसाद भण्डारीले जानकारी दिए ।