Butwal Today

शैक्षिक संस्था र उद्योग क्षेत्रबिच संवाद कार्यक्रम सुरु

१० जेष्ठ २०८३, आइतबार
अ+
अ-

बुटवल । नेपालमा रोजगारीका अवसर पर्याप्त हुँदाहुँदै पनि उद्योग तथा व्यवसाय क्षेत्रमा दक्ष र सीपयुक्त जनशक्तिको अभाव देखिएको छ । अर्कोतर्फ, हजारौँ युवा शक्ति रोजगारीको खोजीमा बिदेसिन बाध्य भइरहेका छन् ।

यही यथार्थलाई केन्द्रमा राख्दै बुटवल कालिका क्याम्पसले शैक्षिक संस्था, उद्योग–व्यवसाय क्षेत्र र सरकारी निकायबिच समन्वय तथा सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यसहित विशेष संवाद कार्यक्रमको सुरुआत गरेको छ ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजित “नेपालको सम्भावित रोजगारी बजारका लागि सीपको खाडल कम गर्न शैक्षिक संस्था र उद्योग क्षेत्र बिच संवाद” कार्यक्रम शुक्रबारदेखि बुटवलमा सुरु भएको हो। तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा उद्योगी, शिक्षाविद्, रोजगारदाता, प्राध्यापक, विद्यार्थी तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा रोजगारीको अभावभन्दा पनि दक्ष जनशक्ति र बजारको आवश्यकता बिचको असन्तुलन मुख्य समस्या भएको धारणा राखेका छन्। उनीहरूले शिक्षा प्रणाली, पाठ्यक्रम र रोजगार बजारबिच तालमेल नहुँदा एकातिर उद्योगहरूले दक्ष कामदार नपाउने र अर्कोतिर शिक्षित युवाहरू बेरोजगार बन्ने अवस्था सिर्जना भएको बताए ।

वक्ताहरूले नेपालमै पर्याप्त सम्भावना हुँदाहुँदै पनि युवाहरू विदेश पलायन भइरहनु दुःखद भएको उल्लेख गर्दै अब राज्य, शैक्षिक संस्था र निजी क्षेत्र बिच व्यवहारिक सहकार्य आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा सहभागी एक वक्ताले भने, “हामीसँग स्रोत छ, सम्भावना छ, जनशक्ति छ, तर त्यसलाई व्यवस्थित गर्ने नीति र संयन्त्र कमजोर हुँदा हामी आफैँ अवसर खोज्दै भौँतारिरहेका छौँ। यो अवस्था अब बदल्नुपर्छ ।”

मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक प्रा. डा. चन्द्रप्रकाश रिजालले शिक्षा र उद्योग क्षेत्र बिच दीर्घकालीन सहकार्य नीति नबन्दा समस्या ज्यूँका त्यूँ रहेको बताए ।

उनका अनुसार उद्योग क्षेत्र नेपालको प्रमुख रोजगारी क्षेत्र भए पनि शैक्षिक संस्थाबाट उत्पादन हुने जनशक्तिको सीप उद्योगको आवश्यकतासँग मेल नखाँदा रोजगारदाता कम्पनीहरूले विदेशी कामदारसमेत खोज्नुपर्ने अवस्था आएको छ ।

प्रा.डा. रिजालले भने “हाम्रो शिक्षाले बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न सकेको छैन । परिणामस्वरूप स्वदेशी उद्योगले कामदार खोजिरहेका छन् भने शिक्षित युवाहरू रोजगारको खोजीमा बिदेसिन बाध्य छन् ।” प्रा.डा. रिजालले पाठ्यक्रम सुधारको आवश्यकता औँल्याउँदै अब सैद्धान्तिक शिक्षाभन्दा व्यवहारिक तथा प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने बताए । उनले मध्यपश्चिम विश्वविद्यालयले पाठ्यक्रम परिमार्जनको सुरुआत गरिसकेको जानकारी पनि दिएका छन् ।

त्यस्तै, मेटलकाष्ट प्रा.लि.का प्रबन्ध निर्देशक निश्चल शर्माले अध्ययनसँगै व्यवहारिक सीप विकासलाई अनिवार्य बनाउनुपर्ने धारणा राखे । उनले विद्यार्थीले क्याम्पसमै अध्ययन गर्दागर्दै उद्योगसँग जोडिएर प्राविधिक अभ्यास गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

शर्माले पाल्पा मिशन अस्पताल र बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) जस्ता संस्थाबाट सिक्नुपर्ने सुझाव दिँदै भने, “विदेशीहरू आएर हामीलाई सिकाएर गए, तर हामीले त्यसलाई पूर्ण रूपमा व्यवहारमा उतार्न सकेनौं। अब ढिला नगरी पढ्दै काम सिक्ने संस्कृतिको विकास गर्नुपर्छ ।” पाठ्यक्रमलाई समयसापेक्ष र रोजगारमुखी बनाउँदै सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता शर्माले औंल्याए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष हरिप्रसाद अर्याल, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष नित्यानन्द ज्ञवाली, पूर्व अध्यक्ष अर्जुनमान सैंजु, क्याम्पस प्रमुख घनश्याम पाठक, सहायक क्याम्पस प्रमुख महेश पाण्डे, उद्योगी व्यवसायी अनिलप्रसाद श्रेष्ठ, नेशनल कुकवेयर प्रा.लिका रुस्तम कँडेललगायतले नेपालमा अवसरको कमी नभए पनि त्यसको खोजी, व्यवस्थापन र समन्वयको अभाव रहेको धारणा व्यक्त गरेका थिए ।

उनीहरूले शिक्षित जनशक्तिलाई उद्योगसँग प्रत्यक्ष जोड्ने नीति, इन्टर्नसिप तथा अप्रेन्टिस प्रणालीको विकास, स्थानीय उद्योगको आवश्यकता अनुसार सीपमूलक तालिम तथा रोजगारमैत्री शिक्षा प्रणाली लागू गर्न सके नेपालमै ठुलो मात्रामा रोजगारी सिर्जना गर्न सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रमका आयोजक बुटवल कालिका क्याम्पसले यस्तो संवादले शैक्षिक संस्था र उद्योग क्षेत्रबिचको दूरी घटाउने तथा भविष्यमा रोजगार सिर्जना, सीप विकास र उत्पादनमुखी शिक्षाको आधार तयार गर्ने अपेक्षा गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?