© 2026
बर्दघाट । बर्दघाट नगरपालिकाले आगामी आर्थिक वर्षभित्र ‘एक घर–एक धारा’ अभियान सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ । नगरभित्र सञ्चालनमा रहेका १२ वटा खानेपानी उपभोक्ता संस्थामार्फत हालसम्म कुल ७५ प्रतिशत घरधुरीमा शुद्ध खानेपानीको पहुँच पुगिसकेको नगरपालिकाले जनाएको हो ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार वडा नं. ४ स्थित बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ‘एक घर–एक धारा’ अभियानको लक्ष्य पूरा गरिसकेको छ । बाँकी २५ प्रतिशत घरधुरीमा पनि आगामी वर्षभित्र शुद्ध पिउने पानी पुर्याउने लक्ष्यका साथ नगरपालिकाले खानेपानी वितरणलाई प्राथमिकतामा राखेको उनले बताए ।
बर्दघाट नगरपालिकाद्वारा आयोजित सुर्तीजन्य पदार्थ नियमन, नियन्त्रण तथा सरसफाइ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले धारा जडान गर्न नसक्ने विपन्न परिवारका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार धारा जडानका लागि विपन्न परिवारले १० प्रतिशत, सम्बन्धित खानेपानी संस्थाले २० प्रतिशत र नगरपालिकाले ७० प्रतिशत लागत व्यहोर्ने छ ।
नगरपालिकाले बर्दघाट खानेपानी तथा बेलहानी खाने पानीलाई लक्षित गरी आयोजना गरेको कार्यक्रममा खानेपानीको पहुँच, सुरक्षित पिउने पानी तथा सुरक्षा योजनाका विषयमा सहजीकरण गरिएको थियो । साथै, बर्दघाट नगरभित्र सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणका विषयमा पनि छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण चुनौतीपूर्ण रहेको बताए । सेवनकर्ताले आत्म बोध नगरेसम्म सुर्तीजन्य पदार्थको लतबाट मुक्त हुन कठिन हुने उल्लेख गर्दै उनले सरोकारवाला सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । विद्यार्थी र बाल क्लबलाई परिचालन गर्न सके सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान अझ प्रभावकारी बन्न सक्ने उनको भनाइ थियो ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले खानेपानी संस्थाहरूले खानेपानी आपूर्तिसँगै सरसफाइ क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण अभियानलाई खानेपानी संस्थामार्फत समुदायसम्म पुर्याउँदा अझ प्रभावकारी हुने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको उनले बताए । सबै पक्षको सहकार्यबाट मात्र सकारात्मक परिणाम हासिल गर्न सकिने उनको धारणा थियो ।
कार्यक्रममा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा नगरवासी संयोजक कृष्णहरि पौडेलले सहजीकरण गरेका थिए ।