© 2026
सिद्धार्थनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरले एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ । कार्यक्रममा प्याब्सन सिद्धार्थनगरमा आबद्ध २६ विद्यालयमध्ये १८ विद्यालयका ७८५ विद्यार्थीमध्ये ६७५ विद्यार्थी उत्तीर्ण भएका छन ।
सम्मान कार्यक्रममा १८ विद्यालयका करिब ३०० विद्यार्थीलाई ३.२ जिपिएभन्दा माथि ल्याएको आधारमा सम्मान गरिएको थियो भने २ जना विद्यार्थीले ४ जिपिए ल्याएर विशेष सफलता हासिल गरेका छन्।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी ले विद्यार्थीलाई अनावश्यक दबाब नदिन आग्रह गरिन्। उनले शिक्षा केवल उच्च अङ्क ल्याउने माध्यम मात्र नभई असल र सफल व्यक्ति बन्ने आधार भएको बताइन्। “हाम्रा बच्चाहरूलाई धेरै प्रेसराइज गर्नु हुँदैन। धेरै पढ्नु मात्रै ठुलो कुरा होइन, असल र सफल व्यक्ति बन्नु ठुलो कुरा हो। उनले भनिन् ।
एजुकेसन भनेको आफूलाई निखार्ने र अगाडि बढाउने प्रक्रिया हो। केवल साइन्स पढ्दैमा मात्रै माथि पुगिन्छ भन्ने होइन।”उप प्रमुख अधिकारीको भनाइ छ । उपप्रमुख अधिकारीले विद्यार्थीलाई निरन्तर अध्ययन गर्दै सक्षम र सफल नागरिक बन्न शुभकामना दिँदै यस वर्ष सिद्धार्थनगरको नतिजा उत्साहजनक रहेको उल्लेख गरिन्।
त्यसै गरी प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिक ले विद्यार्थीको सफलता सामूहिक प्रयासको परिणाम भएको बताए। उनले विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय प्रशासन तथा समाज–सरकार गरी पाँच पक्षको सहकार्यले राम्रो नतिजा सम्भव भएको धारणा राखे।
अध्यक्ष मल्लिकका अनुसार हाल सिद्धार्थनगरको उत्तीर्ण (ग्रेडिङ) प्रतिशत ८६ प्रतिशत रहेको छ भने करिब १४ प्रतिशत विद्यार्थी नन–ग्रेड भएका छन्। उनले सफलताको श्रेय सबै पक्षलाई जाने भएजस्तै नन–ग्रेड हुनुमा पनि सबै पक्षको केही न केही कमजोरी रहेको स्वीकार गरे।
उनले आगामी वर्षहरूमा थप मेहनत, सुधार र सहकार्यमार्फत नन–ग्रेड सङ्ख्या शून्यमा झार्दै शतप्रतिशत नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे।
सम्मानित विद्यार्थीहरूले पनि मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको साथले सफलता प्राप्त भएको बताएका छन । केही विद्यार्थीले नियमित अध्ययन, समय व्यवस्थापन र आत्मविश्वासका कारण राम्रो नतिजा ल्याउन सफल भएको अनुभव पनि सुनाए । उनीहरूले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्दै विद्यालय, अभिभावक र नगरको नाम उज्ज्वल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।