Butwal Today

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउ खेती

३ जेष्ठ २०८३, आइतबार
अ+
अ-

म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउ खेती सुरु भएको छ ।

प्रविन कृषि तथा पशुपक्षी फार्ममार्फत ३० रोपनी खेत र पाखोबारीमा स्याउ खेती सुरु गरेको हो । फार्मका सञ्चालक यादव पौडेलले स्याउ खेतीको परीक्षण सफल भएपछि व्यावसायिक रूपमा स्याउ खेती सुरु गरेको बताए ।

छ वर्ष सरकारी जागिर गरेपछि सात वर्ष इराकमा बिताएका उनले बुटवल र काठमाडौँमा केही समय व्यवसाय पनि गरेका थिए । अहिले घर फर्किएर रु दुई करोड लगानीमा स्याउ फार्म सुरु गरेको बताए । “अहिले स्याउ खेती सुरु भएको छ, आगामी दिनमा ५० रोपनीमा विस्तार गर्ने र कृषि पर्यटनको अवधारणा अनुसार ‘होमस्टे’ सञ्चालनको तयारीमा छु”, उनले भने ।

गाजने समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा छ । पौडेलका अनुसार भारतको हिमाञ्चलबाट ‘रेड डेलिसियस’, गाला, ‘जोनाप्रिन्स’, ‘चकलेटी’ जातका स्याउका कलमी बिरुवा ल्याएर गत मङ्सिर मा रोप्नुभएको थियो । कलमी बिरुवा भएकाले केही बोटमा यसपालीनै फल लागेको छ । गाजने र धवलागिरी गाउँपालिकाको गुर्जामा घरायसी उपभोगका लागि स्याउ उत्पादन भए पनि व्यावसायिक रूपमा भने पहिलो पटक सुरु गरिएको हो ।

बगैँचामा झारपात उम्रन नदिनका लागि प्लास्टिकको छापो हालेर ‘मल्चिङ’ गरिएको छ । स्याउ लगाइएको खेतमा यसअघि धान, गहुँ, मकै र बारीमा कोदो खेती हुने गरेको थियो । करिब तीन रोपनी पाखोबारी बाँझो थियो ।

चार वर्ष हुलाकमा काम गर्नुभएका ५१ वर्षीय पौडेलले रोजगारीका सिलसिलामा करिब छ वर्ष रुकुममा सहायक लेखापालका रूपमा काम गरेका थिए ।

“तलबभत्ताले आफु मात्रै पालिने अवस्था आएपछि सहायक लेखापालको स्थायी जागिर छाडेर इराक गएँ । त्यहाँ छ वर्ष काम गरे,” उनले भने । केही समय मासु पसल र केही समय शैक्षिक परामर्श सञ्चालन गरेका उनले २०७७ सालमा रु २५ लाख लगानी गरेर बोयर जातको बाख्रा पालन गरेका थिए । तर अपेक्षाकृत रूपमा सफलता हात नपरेपछि उनले केही समय भेडापालन पनि गरे ।

पछिल्लो समय पोखरामा रेष्टुरेष्ट व्यवसाय गरिरहेका छोरा प्रविनको योजना अनुसार आफूले स्याउ खेती सुरु गरेको उनको भनाइ छ । उनले स्याउ खेतीका साथै २५ वटा भेडा, दुई वटा भैसी र एउटा गाई पनि पालेका छन् भने एक जनालाई नियमित जागिर पनि दिएका छन् ।

कृषि पर्यटनको अवधारणा
गाजनेमा रहेको धार्मिक र ऐतिहाँसिक स्थल जगन्नाथ मन्दिर दर्शन तथा गुफाको डाँडाबाट दृष्य अवलोकन गर्न आउने पर्यटकहरुलाई लक्षित गरेर स्याउ बारीसँगै ‘होमस्टे’ सञ्चालन गर्ने योजना रहेको उनले बताए । मन्दिर दर्शनका लागि आएका भक्तजन र गुफाडाँडा घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी कृषि पर्यटनको अवधारणामा आगामी दसैँदेखि होमस्टे सञ्चालनको लक्ष्य रहेको उनको भनाइ छ ।

यहाँबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी हिमाल, म्याग्दी, पर्वत र बागलुङका बस्ती देख्न सकिन्छ । तत्कालीन बाइसे चौबिसेअन्तर्गत पर्वत राजको ग्रिमकालीन दरबार रहेको ढोलथान पनि गाजनेको नजिकै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?