Butwal Today

अन्नबाली सखाप पार्दै नीलगाई: जोगिएला तार जालीले ?

२ जेष्ठ २०८३, शनिबार
अ+
अ-

बुटवल । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का किसान गोविन्द रिजालका लागि खेती गर्नु अहिले चुनौतीपूर्ण बनेको छ ।

खेतबारी नजिकै जङ्गल क्षेत्र भएकाले नीलगाई र छाडा गाईले बाली नष्ट गर्ने समस्या उनले वर्षौँदेखि झेल्दै आएका छन् । “नीलगाईको समस्याले अन्नबाली जोगाउनै मुस्किल भएको छ”–उनी भन्छन् ।

तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा जङ्गली जनावर विशेष गरी नीलगाईको आतङ्क बढेपछि किसानहरू खेती जोगाउन सङ्घर्षरत बनेका छन् । रातभर खेतमा जाग्राम बस्ने बाध्यता झेलिरहेका किसानहरू अहिले तार जालीमार्फत बाली संरक्षण अभियानमा जुटेका छन् ।

“खेती लगाएपछि रातभर सुत्न पाइँदैनथ्यो । कहिले नीलगाई आउला र अन्नबाली सखाप पार्ला भन्ने चिन्ताले खेतमै बत्ती बालेर बस्नुपर्थ्यो,” रिजालले भने ।

स्थानीयवासी र नवजीवन क्लबको सहयोगमा केही वर्षअघि तार जाली लगाउन सुरु गरेपछि भने केही राहत मिलेको उनको अनुभव छ । वडा कार्यालयबाट प्राप्त सीमित बजेटमार्फत तार जाली बिस्तार गरिएको भए पनि समस्या पूर्ण रूपमा समाधान नभएको उनी बताउँछन् ।

रिजालका अनुसार आनन्दवन–मधुवन सामुदायिक वन क्षेत्रमा नीलगाईको सङ्ख्या बढ्दै जाँदा खेतीपातीमा थप जोखिम बढेको छ । “समयमै नियन्त्रण गर्न सकिएन भने फेरि किसानको बालीमा निलगाईले राज गर्ने अवस्था आउँछ,” उनले भने ।

तिलोत्तमा–४ की किसान सीता कुमारी बर्माको पीडा पनि उस्तै छ । उनका अनुसार खेती लगाउने बित्तिकै नीलगाई, बँदेल र छाडा गाईको त्रास सुरु हुन्छ । “धान होस् वा मकै, लगाएको बाली जोगाउनै मुस्किल छ । वन्यजन्तुले खाइसकेपछि बाँकी रहेको मात्रै हामीले भित्र्याउने अवस्था छ,” उनले गुनासो गरे ।

उनका अनुसार नीलगाईको आतङ्ककै कारण कतिपय किसानले खेती गर्न छाडिसकेका छन् । “पहिले यहाँ धेरै मकै उत्पादन हुन्थ्यो । अहिले निलगाईकै कारण मकै खेती कथा जस्तै बनेको छ,” उनले भने ।

स्थानीयवासीले सामूहिक रूपमा सामान्य तार जाली लगाए पनि त्यसले प्रभावकारी रूपमा बाली जोगाउन नसकेको किसानहरूको भनाइ छ ।
यता तिलोत्तमा नगरपालिका–१३ मा भने नीलगाईबाट बाली जोगाउन व्यवस्थित रूपमा तार जाली लगाउने काम सुरु गरिएको छ ।

विगतमा बाली जोगाउन सामूहिक रूपमा नीलगाई लखेट्ने, रातभर जाग्राम बस्ने जस्ता उपाय अपनाइए पनि प्रभावकारी नतिजा नआएपछि स्थानीयले बाली संरक्षण समिति गठन गरेका थिए । बाली संरक्षण समितिका अध्यक्ष घनलाल अधिकारीले किसानको समस्या समाधानका लागि लुम्बिनी प्रदेश सरकारसँग सहयोग माग गरिएको जानकारी दिए ।

“हामीले विभिन्न प्रयास गर्दा पनि बाली जोगाउन कठिन भएपछि प्रदेश सरकारसँग बजेट माग गरेका थियौँ । अहिले तार जाली लगाउने काम सुरु भएको छ,” उनले भने ।

उनका अनुसार हाल लगाइएको तार जालीले तिलोत्तमा–१३ का सेमरी, तिनधुरे, बनकट्टी तथा वडा नं. १४ का केही क्षेत्रका किसानलाई तत्काल राहत पुग्ने अपेक्षा गरिएको छ । यद्यपि सम्पूर्ण क्षेत्र सुरक्षित बनाउन अझै २० देखि २५ लाख रूपै याँ आवश्यक पर्ने उनले बताए ।

तिलोत्तमा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष नारायण ढकालले नदी तटीय क्षेत्र आसपास नीलगाईको वासस्थान रहेकाले किसानहरू वर्षौँदेखि समस्यामा परेको बताए ।

“दिनभर जङ्गल क्षेत्रमा बस्ने नीलगाई रात परेपछि खेतबारीमा पस्छन् । यसले किसान हैरान भएपछि हामीले प्रदेश सरकारसँग बजेट माग गरेर तार जाली अभियान सुरु गरेका हौँ,” उनले भने ।

वडा अध्यक्ष ढकालका अनुसार सुरुवातमा २० लाख रूपै याँ बजेट विनियोजन भए पनि विभिन्न कारणले कटौती भएर १६ लाख रूपै याँ मात्रै प्राप्त भएको थियो । सोही बजेटबाट अहिले करिब दुई हजार मिटर क्षेत्रमा तार जाली लगाउने काम भइरहेको उनले जानकारी दिए ।

यस वर्ष सेमरी, तिनधुरा र सुस्पुरा टोल आसपासका नदी तटीय क्षेत्रमा तार जाली विस्तार गर्ने योजना रहेको उनले बताए । स्थानीय किसानहरूका अनुसार तार जाली अभियानले केही राहतको अनुभूति गराएको छ । तर, दीर्घकालीन रूपमा वन्यजन्तु नियन्त्रण, बाली संरक्षण तथा किसानको सुरक्षा सुनिश्चित गर्न प्रदेश र स्थानीय सरकारले थप प्रभावकारी योजना ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?