© 2026
नवलपरासी । पश्चिम नवलपरासी सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वार्टर पश्चिम नवलपरासी ले आफ्नो १९औँ स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ।
बेलासपुरस्थित गण परिसरमा आयोजित समारोह विभिन्न औपचारिक तथा सांस्कृतिक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा पूर्व प्रहरीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
स्थापना दिवसको अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले गणले विगतदेखि सुरक्षा, शान्ति स्थापना, विपद् व्यवस्थापन,तस्करी नियन्त्रण तथा सीमा सुरक्षामा पुर्याउँदै आएको योगदानको चर्चा गरेका थिए ।
सीमित श्रोत र साधनका बाबजुद पनि निरन्तर सेवामा सक्रिय भएको सङ्गठन आगामी दिनमा थप सुदृढ हुनुपर्ने उनले बताए ।
समारोहलाई सम्बोधन गर्दै वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेलले देशको सुरक्षा संवेदनशीलताका बिच सशस्त्र प्रहरी बलले नागरिकको भरोसाको संस्थाका रूपमा आफूलाई स्थापित गरेको बताए। साथै सीमावर्ती क्षेत्रको सुरक्षा, अपराध नियन्त्रण र विपद्का समयमा उद्धार तथा राहत कार्यमा प्रहरीको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।
गणले २०७७ सालमा पश्चिम नवलपरासीमा स्थापना भई आफ्नो कार्यक्षेत्र विस्तार गर्दै आएको स्मरण गर्दै सो गणका गणपति गोविन्द बहादुर खातीले राष्ट्र हित र नागरिक सेवा नै सर्वोपरि ठान्दै अघि बढेको सङ्गठनको योगदान अतुलनीय रहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरूले सीमा क्षेत्रको सुरक्षा बिपद र उद्धार कार्यमा सक्रिय रहने सशस्त्र प्रहरी बललाई श्रोत साधन सम्पन्न बनाइनू पर्नेमा जोड दिए ।
स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने सुरक्षाकर्मीहरूलाई सम्मानसमेत गरिएको थियो भने सङ्गठनमा रहेर बलिदानी गर्ने वीर सहिदहरूको स्मरण गरिएको थियो ।समारोहमा सांस्कृतिक प्रस्तुति तथा मैत्रीपूर्ण कार्यक्रमहरू पनि आयोजना गरिएको थियो।