© 2026
सिद्धार्थनगर । सिद्धार्थनगर नगरपालिकाले केही समयअघि ठुलो तामझामका साथ सुरु गरेको ‘फुटपाथ खाली गर्ने अभियान’ अहिले पूर्णतः निष्प्रभावी देखिएको छ ।
बजार क्षेत्रका फुटपाथहरू यति बेला पैदल यात्रीका लागि होइन, बाइक र स्कुटर पार्किङका लागि सुरक्षित थलो बनेका छन् । नगरपालिकाले वैशाख १७ गते १५ दिनभित्र फुटपाथ खाली गर्न सूचना निकालेको थियो, तर त्यो सूचनाको पालना न व्यापारीले गरे, न नागरिकले गरे, न त नगरपालिकाले नै त्यसलाई कार्यान्वयन गराउन सक्यो ।
अहिले बजारका मुख्य सडकका फुटपाथभरि बाइक र स्कुटरको लस्कर छ। जसका कारण सर्वसाधारणहरू ज्यान जोखिममा राखेर व्यस्त सडकको बिचबाट हिँड्न बाध्य छन् ।
स्थानीय प्रशासनले नियमित अनुगमन र दीर्घकालीन पार्किङ स्थलको व्यवस्था गर्नुको सट्टा केवल ‘मौसमी’ अभियान चलाएर प्रचारबाजी मात्र गरेको स्थानीयको गुनासो छ ।
स्थानीय व्यापारी तथा सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले नगरपालिका र ट्राफिक प्रहरीको कार्यशैलीप्रति कडा प्रश्न उठाएका छन् । उनले सम्बन्धित निकायहरू दीर्घकालीन व्यवस्थापन भन्दा पनि जरिवाना असुली र क्षणिक कारबाहीमा मात्र केन्द्रित भएको आरोप लगाए ।
ज्ञवालीका अनुसार, बजार क्षेत्रमा बढ्दो सवारी चापलाई मध्यनजर गर्दै पार्किङ जोन र बस स्टपहरूको सही व्यवस्थापन नगर्दासम्म फुटपाथमा हुने यस्तो ‘कब्जा’ रोकिने छैन । तर, नगरपालिकाले भने विकल्प दिनुको सट्टा नगर प्रहरीको डर देखाएर मात्रै पन्छिन खोजेको देखिन्छ । उता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा भने सधैँझैँ ‘कारबाही गर्छौँ’ भन्न छोड्दैनन् ।
उनले नगर प्रहरी लगाएर कडा कदम चाल्ने दाबी त गरे, तर बजारको अवस्था हेर्दा नगर प्रहरीको उपस्थिति कतै देखिँदैन । यस्तै ताल जिल्ला ट्राफिक प्रहरी कार्यालयको पनि छ । कार्यालय प्रमुख प्रतिमा कार्कीले नियमित निगरानी र पाङ्ग्रा लक गर्ने काम भइरहेको बताए पनि फुटपाथमा पार्किङ गर्नेहरूको मनोबल घटेको छैन ।
ट्राफिक प्रहरीले ‘एकतर्फी पार्किङ’ को नियम त ल्यायो, तर त्यो नियम कागजमै सीमित छ । नगरपालिका र ट्राफिक प्रहरीबिच समन्वय नहुँदा र मौसमी रूपमा मात्रै अभियान चलाउँदा भैरहवाको फुटपाथ पार्किङको समस्या झन् पछि झन् फितलो बन्दै गएको छ ।