Butwal Today

कीर्तिपुर हत्या प्रकरण : मुख्य अभियुक्त शाही प्रहरीको गोली लागेर पक्राउ

३१ बैशाख २०८३, बिहीबार
अ+
अ-

काठमाडौं । कीर्तिपुरमा युवक हत्या प्रकरणका मुख्य अभियुक्त सुजन शाहीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फरार रहेका शाहीलाई टोखा क्षेत्रमा नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो। प्रहरी स्रोतका अनुसार पक्राउ गर्न खोज्दा भाग्न प्रयास गरेपछि शाहीको घुँडामुनि गोली हानिएको थियो। गोली लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पठाइएको छ।

यो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि नै तीन जनालाई पक्राउ गरिसकेको थियो। २३ वैशाखमा पक्राउ पर्नेहरूमा अछाम साँफेबगर नगरपालिका–४ घर भई कीर्तिपुर–९ भाजंगल बस्दै आएका २५ वर्षीय महेन्द्र शाह, कैलाली बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रवीन्द्र धामी तथा कैलालीकै घोडाघोडी नगरपालिका–१ घर भई कीर्तिपुर–८ सिनेमा हल क्षेत्रमा बस्ने २२ वर्षीय रोशन बिष्ट रहेका छन्।

उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। तर घटनापछि फरार रहेका मुख्य अभियुक्त सुजन शाहीलाई प्रहरीले लगातार खोजी गरिरहेको थियो। प्रहरीका अनुसार टोखा क्षेत्रमा फेला परेपछि उनलाई नियन्त्रणमा लिन खोज्दा उनी पुनः भाग्न खोजेका थिए।

प्रहरीका अनुसार २३ वैशाख दिउँसो करिब साढे २ बजे कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा गुल्मी धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर ढल्पा बस्दै आएका २२ वर्षीय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते भएका घिमिरेलाई तत्काल कीर्तिपुर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार हत्या गर्ने र मारिने पक्षबीच साथीको सम्बन्ध रहेको खुलेको छ। आपसी विवाद चर्किएपछि धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको भनाइ छ।

घटनास्थलको सीसीटिभी फुटेजमा ६ जनाको समूह देखिएको प्रहरीले जनाएको छ। त्यसमध्ये एक जना विपिन घिमिरेको हत्या भएको थियो। घटनास्थलमा केही दिनअघि मात्रै हिरासतबाट छुटेका व्यक्तिहरू समेत देखिएको भन्दै प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?