© 2026
काठमाडौं । रास्वपाकि सासंद मञ्जु भुसालले बुटवलको आर्थिक अवस्था कमजोर बन्दै गएको भन्दै सरकारले आगामी बजेट तथा विकास कार्यक्रममार्फत विशेष योजना ल्याउनुपर्ने माग गरेकी छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बुटवल देशकै ठूलो व्यापारिक हब भए पनि लुम्बिनी प्रदेशको राजधानी दाङ सारिएपछि आर्थिक गतिविधि चलायमान हुन नसकेको बताइन्। उनले अहिले बुटवलका उद्योग, व्यापार तथा व्यवसाय ठप्पजस्तै अवस्थामा पुगेको उल्लेख गरिन्।
सांसद भुसालले बुटवललाई पुनर्जीवन दिन उद्योग, व्यापार, पूर्वाधार, स्वास्थ्य र शिक्षालाई लक्षित गरी विशेष योजना ल्याउन सरकारसँग आग्रह गरिन्। जनतालाई प्रत्यक्ष अनुभूति हुने कार्यक्रम र विकास योजनामा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो। त्यस्तै, पछिल्लो समय भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या बढ्दै गएको उल्लेख गर्दै उनले उनीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सुरक्षित आवास सुनिश्चित गर्दै विकासलाई अगाडि बढाउनु आजको आवश्यकता रहेको उनले बताइन्। सांसद भुसालले जनताको जीवनस्तर सुधार हुने गरी व्यवहारिक र प्रभावकारी कार्यक्रम ल्याउन सरकारसँग माग गरेकी छन्।