© 2026
काठमाडौँ । संघीय संसद्को संयुक्त बैठकमा सोमबार अभूतपूर्व दृश्य देखियो। आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले ले प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन शाह बीचैमा संसद् बैठक छोडेर बाहिरिएका थिए।
राष्ट्रपतिले करिब १ घण्टा १० मिनेट लगाएर नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री शाह अन्त्यसम्म नबसी बाहिरिएको दृश्यले संसद्भित्र र बाहिर दुवैतर्फ चर्चा चुलिएको छ। राष्ट्रपतिले कार्यक्रम प्रस्तुत गरिसकेपछि सभामुख डिपी अर्यालले सम्मानका लागि सांसदहरूलाई उभिन आग्रह गरेका थिए। संसद् हलमा सबै सांसद उभिएर राष्ट्रपतिलाई बिदाइ गरिरहँदा प्रधानमन्त्रीको कुर्सी भने खाली देखिएको थियो।
सभामुख डीपी अर्याल र राष्ट्रिय सभा अध्यक्ष स्वयं बाहिरसम्म पुगेर राष्ट्रपतिलाई बिदाइ गर्न गए पनि प्रधानमन्त्री भने उपस्थित रहेनन्। प्रधानमन्त्री शाह संसद् गतिविधिप्रति उदासीन देखिएको चर्चा यसअघि पनि हुँदै आएको थियो। प्रधानमन्त्री बनेपछि उनले संसद्मा बोल्नेसमेत गरेका छैनन् भने सोमबार दिउँसो बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा पनि अनुपस्थित थिए।
संसदीय परम्परा अनुसार राष्ट्रप्रमुखलाई स्वागत र बिदाइ दुवै उच्च सम्मानका साथ गरिन्छ। तर यसपटक प्रधानमन्त्री नै बीचमै बाहिरिएपछि संसदीय मर्यादा र राजनीतिक सन्देशबारे नयाँ बहस सुरु भएको छ।