Butwal Today

मिडियालाई कमजोर बनाएर एकाधिकार लाद्न खोजिएको छ : मुख्यमन्त्री आचार्य

२८ बैशाख २०८३, सोमबार
अ+
अ-

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्र र संविधानलाई कमजोर बनाउने उद्देश्यसहित संघ सरकारले मिडिया क्षेत्रलाई संकुचनमा राख्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा बुटवलमा आयोजित राष्ट्रिय सञ्चार सम्मेलनको समापन कार्यक्रमलाई संबोधोन गर्दै मुख्यमन्त्री आचार्यले फागुन २१ पछिको राजनीतिक अवस्थापछि सरकारको मिडिया, न्यायालय, जनसंगठन र ट्रेड युनियनप्रतिको दृष्टिकोण नकारात्मक बन्दै गएको बताए । उनले एउटा व्यक्तिलाई अलौकिक शक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको र मिडियालाई कमजोर बनाएर एकाधिकार लाद्न खोजिएको उल्लेख गर्दै लोकतन्त्रको मर्मविपरीत गतिविधि बढ्दै गएको मुख्यमन्त्री आचार्यले टिप्पणी गरे ।

“आज निशाना मिडियामाथि छ, निशाना गरिब निमुखामाथि छ, निशाना ट्रेड युनियनमाथि छ । हामी सबै सचेत र गम्भीर बन्न जरुरी छ,” आचार्यले भने । मुख्यमन्त्री आचार्यले संघीय सरकारले सरकारी सञ्चार माध्यममा मात्रै विज्ञापन दिने गरी जारी गरेको परिपत्रप्रति पनि गम्भीर आपत्ति जनाए । प्रधानमन्त्रीसमक्ष आफूहरूले यस विषयमा असन्तुष्टि राखेको बताउँदै उनले सुधार गर्ने आश्वासन पाए पनि व्यवहारमा परिवर्तन नदेखिएको बताए “मिडियामाथि लगाइएको अंकुशबारे प्रदेश सरकारको तर्फबाट सबैभन्दा पहिले धारणा राखेका हौँ,” उनले भने ।

अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश सरकारले सञ्चार क्षेत्रमा बढी बजेट विनियोजन गरेको दाबी गर्दै आचार्यले कार्यान्वयन पक्षमा भने समस्या रहेको स्वीकार गरे । संघीय सचिवहरू प्रदेश सरकारप्रति उत्तरदायी नहुँदा काम गर्न कठिनाइ भइरहेको उनको भनाइ थियो ।“आर्थिक पक्षमा हाम्रो सही चल्दैन । सचिव संघीय सरकारप्रति उत्तरदायी हुँदा प्रदेश सरकारलाई समस्या परेको छ,” उनले बताए । उनले दुई तिहाइको सरकारमा दम्भ देखिएको आरोप लगाउँदै सरकार जनता र मिडियाप्रति संवेदनशील हुन नसक्दा निरंकुश प्रवृत्ति बढ्दै गएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?