Butwal Today

सरकारको नीति कार्यक्रम : संसद् भवन परिसर झकिझकाउ

२८ बैशाख २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको पूर्व तयारीस्वरुप सिंहदरबारमा पूर्वाभ्यास रिहर्सल गरिएको छ । यस क्रममा सङ्घीय संसद् भवन परिसरमा उपसभामुख रुवी कुमारी र सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले स्वागतको पूर्वाभ्यास गरेका थिए । त्यसक्रममा रिसल्ला सवारी र नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पणको पूर्वअभ्यास गरेको थियो ।

राष्ट्रपतिको सम्मानमा संसद् भवन परिसरलाई सिँगारेर राष्ट्रिय झण्डाले झकिझकाउ पारिएको छ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन । त्यसका लागि अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक आह्वान गरिएको छ । सङ्घीय संसद्का सदस्यहरुलाई ३ः४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्ष बहुउद्देश्यीय कक्षमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलद्वारा आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको थियो । त्यसअघि आजै दिउँसो २ः०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्दैछ । बैठकमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा जारी विभिन्न आठ अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?