© 2026
भैरहवा । अग्रज पत्रकारहरूले सञ्चारमाध्यम सधैँ जनताको पक्षमा उभिनुपर्ने तथा सत्ता र शक्तिलाई निरन्तर प्रश्न गर्न सक्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ रुपन्देहीद्वारा बुटवलमा आज आयोजित मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलनअन्तर्गत “प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र स्रोताको मन रु” विषयक बहसमा सहभागी वक्ताहरूले पत्रकारिता जनआवाजको सशक्त माध्यम बन्नुपर्ने बताएका हुन् ।
उनीहरूले सञ्चारमाध्यमले सत्य, तथ्य र जनचासोका विषयलाई प्राथमिकतामा राख्दै लोकतन्त्रको रक्षा, सुशासन प्रवर्द्धन तथा नागरिक अधिकारको पक्षमा निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले पछिल्लो समय मिडियाले पस्किने सामग्रीको विश्वसनीयता र आधारमाथि प्रश्न उठ्न थालेको बताए । उनले सबै सूचना समाचार नहुने उल्लेख गर्दै डिजिटल प्रविधि र ‘अल्गोरिदम’को प्रभावले सम्पादकीय स्वतन्त्रतामाथि चुनौती थपिएको धारणा राखे ।
“पत्रकारले सधैँ सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्छ, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ”, उनले भने । मिडियाले सत्य सूचनालाई समाचार बनाउन डराउन नहुने र सत्तालाई प्रश्न गर्न छाडे नागरिक अधिकार कमजोर बन्न सक्ने उनको भनाइ थियो । जनआस्थाका सम्पादक किशोर श्रेष्ठले पत्रकारिताको मूल धर्म सत्य र तथ्यको पक्षमा उभिनु रहेको बताए । सत्यबाट विचलित नभई जोखिम मोलेर पनि तथ्य प्रस्तुत गर्नुपर्ने उनले उल्लेख गरे । “स्रोतप्रति विश्वास र जिम्मेवारीबोध सहित पत्रकारले आफ्नो कर्ममा निरन्तर लागिरहनुपर्छ”, उनले भने ।
समाधान दैनिकका केशवशरण लामिछानेले गुणस्तरीय सामग्री र खोजमूलक समाचार प्रस्तुत गर्न सके सञ्चारमाध्यमप्रति पाठकको विश्वास बढ्ने बताए । अनलाइनमा प्रकाशित समाचारजस्ताको तस्तै पत्रिकामा छापेर पाठक आकर्षित गर्न नसकिने उनको भनाइ थियो । उनले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र केन्द्रित गर्ने नीतिले निजी सञ्चारमाध्यम, विशेषगरी पत्रिकाहरू थप सङ्कटमा परेको उल्लेख गरे । जस्तोसुकै चुनौती भए पनि पत्रकार र सञ्चारगृहले प्रश्न गर्न छाड्न नहुने उनले बताए ।
यसैगरी आज दोस्रो दिन आइतबार ‘लुम्बिनीको पर्यटन, पर्यटक र पैसा कसरी भित्रा्यउने’ भन्ने विषयमा छलफल गरिएको थियो । छलफलमा सरकारका प्रतिनिधि, पर्यटनविद, व्यवसायी तथा स्थानीय सरकारका प्रतिनिधिहरुसँग सहभागी थिए । ‘आर्थिक संकटमा मिडिया, अबको बाटो’ भन्ने विषयमा राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा लामो समय व्यवस्थापन क्षेत्रमा रहेर काम गरेका प्रतिनिधिहरुसँग छलफल गरिएको थियो । यसैगरी ‘प्रश्नको घेरामा मिडिया, कसरी जिल्ने पाठक दर्शक र श्रोताको मन’ भन्ने विषयमा लामो समय अनुभव प्राप्त सम्पादक तथा सञ्चारकर्मीहरुसँग छलफल गरिएको थियो । ‘परम्परातगत मिडियामाथि डिजिटल प्लेटफर्मको चुनौती’ विषयक समूहगत छलफल हुनेछ भने ‘मिडिया नीति कस्तो हुनुपर्छ’ भन्ने विषयमा छलफल हुनेछ । विभिन्न राजनीतिक दल सम्बद्ध पत्रकार संघसंगठनका केन्द्रीय अध्यक्षहरु सहभागी हुने ‘मिडियाकर्मीः वाचडग कि राजनीतिक खेलाडी’ विषयक छलफल गरिएको थियो।
सम्मेलन वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ सम्मेलनको अन्तिम दिन सोमबार बुटवल घोषणापत्र जारी गर्दै कार्यक्रम समापन हुने पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए ।