© 2026
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आयोजना गरेको सांसद तथा सरकार र पार्टी भूमिकासम्बन्धी प्रशिक्षणमा सभापति रवि लामिछानेले सांसदहरूलाई कडा र स्पष्ट सन्देश दिएका छन्। जावलाखेलस्थित स्टाफ कलेजमा भएको दोस्रो चरणको प्रशिक्षणमा रविले पार्टीभित्र देखिन थालेको पद आकांक्षा र असन्तुष्टिलाई लक्षित गर्दै सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा सम्झाएका हुन्।
उनले सरकारी गाडी, पद र सुविधालाई सफलताको मापदण्ड बनाउनु गम्भीर गल्ती भएको भन्दै स्पष्ट भने यदि त्यही सोचले राजनीति गरिएको हो भने “गलत दिशातर्फ यात्रा भइरहेको छ”। रविले सांसदहरूलाई इतिहासको उदाहरण दिँदै पुराना राजनीतिक दलहरूले गरेको लामो संघर्ष, त्याग र कठिन परिस्थितिको स्मरण गराएका थिए। उनका अनुसार आजको सहज राजनीतिक वातावरणमा पद र लाभको अपेक्षा गर्नु उचित होइन।
“कुनै समय नेताहरूको टाउकोको मूल्य तोकिएको थियो, निर्वासन र जोखिमबीच आन्दोलन चलेको थियो,” भन्दै उनले आजको राजनीतिक सहजतालाई ‘सबैभन्दा सजिलो क्रान्ति’ को रूपमा चित्रण गरे। उनले भने आजको अवस्थामा सुरक्षित वातावरण, सुविधा र सम्मानका बीचमा पनि यदि जनताको अपेक्षाअनुसार परिणाम दिन नसकिए त्यो असफलता हुने चेतावनी दिए।
पार्टीभित्र पद माग्ने प्रवृत्ति बढ्दै गएको संकेत गर्दै लामिछानेले स्पष्ट पारे “यो पार्टीमा योगदानको मूल्य तुरुन्त माग्ने समय होइन, अझ योगदान दिने समय हो।” रास्वपाको यो प्रशिक्षणले पार्टीभित्र बढ्दो आकांक्षा, असन्तुष्टि र संगठनात्मक अनुशासनलाई केन्द्रमा ल्याएको देखिएको छ, जहाँ नेतृत्वले सांसदहरूलाई मूल लक्ष्य जनसेवा र विधेयक निर्माण तर्फ केन्द्रित हुन पुनः जोड दिएको छ।