© 2026
चन्द्रौटा (कपिलवस्तु) । बसोबासीहरूले सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । कपिलवस्तुका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको चन्द्रौटामा बिहीबार आयोजित भेलाले सरकारको डोजर अभियानविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।
भेलामा सहभागीहरूले सरकारले सुकुम्वासीमाथि अन्याय गरेको आरोप लगाएका छन् । संयुक्त सङ्घर्ष समितिका अध्यक्ष कृष्ण घिमिरेले सरकारको ‘डोजर आतङ्क’ विरुद्ध सशक्त आन्दोलनको तयारी भइरहेको बताए । आन्दोलनको मिति केही दिनभित्र सार्वजनिक गरिने उनले बताए ।
त्यस्तै, संयुक्त सुकुम्वासी तथा अव्यवस्थित सङ्घर्ष समिति कपिलवस्तुले २० हजार जनाको सहभागितामा विशाल आन्दोलन घोषणा गर्ने तयारी गरेको समाजसेवी तथा युवा नेता एम.बि. सुनारले बताए ।
सरकारले सुकुम्वासीहरूको उठीबास गराएको भन्दै बाध्य भएर सडक आन्दोलनमा उत्रिनुपरेको सुनारको भनाइ छ । आन्दोलनका कार्यक्रम चाँडै सार्वजनिक गरिने समितिले जनाएको छ ।

