© 2026
नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत रहेको नयाँ गाउँ टोललाई शुक्रबार “वैदेशिक रोजगार सुरक्षित गाउँ” घोषणा गरिएको छ।
बर्दघाट नगरपालिकाको आयोजनामा तथा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सहयोगमा “स्वदेशमै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ” भन्ने नारालाई आत्मसाथ गर्दै सुरक्षित गाउँ घोषणा गरिएको हो।
सो अवसरमा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले वैदेशिक रोजगारीमा जाने युवालाई सुरक्षित, मर्यादित र कानुनी प्रक्रियामार्फत विदेश पठाउन स्थानीय तह र सामीको भूमिका महत्त्वपूर्ण रहेको बताए।
उनले सुरक्षित आप्रवासन सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन नगरपालिका निरन्तर सक्रिय रहेको उल्लेख गरे।
साथै बर्दघाट नगरपालिकाका १२७ टोलमध्ये सबैभन्दा कान्छो टोल भए पनि नयाँ गाउँले उदाहरणीय काम गरेको भन्दै आगामी दिनमा पनि अन्य सामाजिक गतिविधिमा अग्रणी भूमिका खेल्न आग्रह गरे।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक विजय ठाकुर ले वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले आवश्यक सूचना, सीप तथा कानुनी प्रक्रियाबारे जानकारी लिएर मात्र विदेश जानुपर्ने बताए । उनले समुदाय स्तरमै चेतना विस्तार गर्न यस्तो अभियान प्रभावकारी हुने धारणा राख्दै लुम्बिनी प्रदेशमै पहिलो पटक “वैदेशिक रोजगार सुरक्षित गाउँ” घोषणा गरिएको नयाँ गाउँले यस अभियानलाई निरन्तरता दिनुपर्ने बताए।
नयाँ गाउँ टोल विकास संस्थाका अध्यक्ष बिन्दु भण्डारीले गाउँलाई सुरक्षित गाउँ घोषणा गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि वैदेशिक रोजगार सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
सामी कार्यक्रम लुम्बिनी प्रदेशका अधिकृत जियाउल हक मनिहार का अनुसार टोलमा रहेका ४८ घरधुरी तथा १९१ जनसङ्ख्यामध्ये २७ जना वैदेशिक रोजगारमा रहेका छन् भने ६ जना विदेश जाने तयारीमा छन् ।
]उनीहरू सबै सुरक्षित सूचना पहुँचमा रही आवश्यक कागजात घरमै सुरक्षित राखेको आधारमा नयाँ गाउँलाई “वैदेशिक रोजगार सुरक्षित टोल” घोषणा गरिएको उहाँले जानकारी दिए।सामी कार्यक्रम मार्फत वित्तीय साक्षरता लगायत वैदेशिक रोजगार सम्बन्धी समुदाय स्तरको अभिमुखी करण कार्यक्रमलाई निरन्तरता दिँदै आइएको सामी कार्यक्रमका स्थानीय सहजकर्ता सूर्य पाण्डेले बताए ।