Butwal Today

नसर्ने रोगविरुद्ध कोहलपुरको १५ वडामा निःशुल्क स्वास्थ्य जाँच शिविर

१७ बैशाख २०८३, बिहीबार
अ+
अ-

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले रोग खोज्दै समुदायसम्म पुग्ने अभियान सुरु गरेको छ । नागरिकलाई समयमै रोग पहिचान र उपचारको पहुँच दिलाउने लक्ष्यसहित नगरपालिकाले बिहीबारदेखि वृहत् स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको हो ।

यो अभियान नगर स्वास्थ्य प्रवर्धन केन्द्र (वडा नं. १५) बाट सुरु गरिएको हो, जहाँ ३० वर्षमाथिका सबै नागरिकलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परीक्षण र स्क्रिनिङ सुरु गरिएको छ । शिविर सुशील कोइराला प्रखर क्यान्सर अस्पताल को प्राविधिक तथा विशेषज्ञ सहयोगमा सञ्चालन भइरहेको छ ।

नगरपालिकाका अनुसार नसर्ने रोगको पहिचान र नियन्त्रणका लागि यसरी समुदायमै पुगेर सञ्चालन गरिएको यो कार्यक्रम बाँकेमै सम्भवतः पहिलो ठुलो प्रयास हो । नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार पछिल्लो समय नसर्ने रोगको जोखिम बढ्दै गएकाले समयमै पहिचान गर्न यस्तो अभियान थालिएको हो । “अब स्वास्थ्य सेवा नागरिकसम्म पु¥याउने समय आएको छ,” उनले भने ।

यस्तै उपप्रमुख सङ्गीता सुवेदी ले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न यस्तो शिविर अत्यन्त प्रभावकारी हुने बताइन् । उनका अनुसार शिविरले लुकेर बसेका रोग पहिचान गर्न सहयोग पु¥याउनेछ ।

शिविरमा उच्च रक्तचाप, मधुमेह, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मिर्गौला समस्या, थाइराइड र बाथ रोग जस्ता नसर्ने रोगहरूको स्क्रिनिङ गरिँदै छ । साथै स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य स्त्रीरोगसम्बन्धी परीक्षण र परामर्श सेवा पनि उपलब्ध गराइएको छ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा इन्द्र निल घोषका अनुसार समयमै स्क्रिनिङ गर्दा क्यान्सरजस्ता गम्भीर रोगबाट बच्न सकिन्छ । उनले भने, “पाठेघरको मुखको क्यान्सर प्रारम्भिक अवस्थामै पत्ता लागे पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ ।”

स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीका अनुसार शिविरमा भिडियो एक्स–रे देखि औषधिसम्म सबै सेवा निःशुल्क प्रदान गरिँदै छ । विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीको स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श सेवा दिइरहेको छ । यस अभियानमा डा रुपेश रोशन, डा चेतन न्यौपाने र डा शिव आले लगायतका विशेषज्ञ चिकित्सक सहभागी छन् ।

नगरपालिकाले यो कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाउँदै आगामी डेढ महिनासम्म सबै १५ वडामा विस्तार गर्ने योजना बनाएको छ । कोहलपुरको यो प्रयासले स्वास्थ्य सेवा नागरिकको घरदैलोमै पुग्यो भने, रोगको जोखिम घटाउनु मात्र होइन, स्वस्थ समाज निर्माण पनि सम्भव छ भन्ने सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?