Butwal Today

चाप हुने यातायात सेवा कार्यालय टहरोमा, छेउमै सुनसान आलिसान जिसस भवन

करोडौँ राजश्व उठाउने कार्यालय टहरोमा रहँदा,छेउमै रहेको जिल्ला समन्वय समिति (जिसस)  कार्यालय भने सुनसान हुने गरेको छ । 
१६ बैशाख २०८३, बुधबार
अ+
अ-

नवलपरासी, पश्चिम् । पश्चिम् नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिका–४ मा रहेको यातायात व्यवस्था सेवा कार्यालय सेवाग्राहीको अत्यधिक चापबिच पनि टहरोमै सञ्चालन हुँदै आएको छ ।

आवश्यक पूर्वाधार अभावका कारण दैनिक सेवा प्रवाहमै कठिनाइ भइरहेको छ भने सेवाग्राहीले घाम, भीड र अव्यवस्थित वातावरण सहेर सेवा लिन बाध्य भएका छन् ।

साँघुरो र अव्यवस्थित कार्यालयका कारण सेवाग्राहीलाई लामो समय लाइन बस्नुपर्ने, भिडभाडमा सास्ती खेप्नुपर्ने र सामान्य सेवा लिनसमेत घण्टौँ कुर्नुपर्ने अवस्था रहेको छ । तर विडम्बना, सोही कार्यालयसँगै टाँसिएर रहेको जिल्ला समन्वय समितिको तीन तले सुविधा सम्पन्न भवन भने प्रायः सुनसानजस्तै देखिन्छ ।

सेवाग्राहीको ठुलो चाप हुने र वार्षिक करोडौँ राजस्व सङ्कलन गर्ने कार्यालय टहरोमा सञ्चालन भइरहेको अवस्थामा न्यून कर्मचारी रहेको जिल्ला समन्वय समितिको कार्यालय भने आधुनिक र पर्याप्त पूर्वाधारसहित सञ्चालनमा छ । यसले सरकारी स्रोतसाधनको प्रभावकारी उपयोगमाथि प्रश्न उठाएको छ ।
यातायात सेवा लिन आएका सुनवल–२ का सेवाग्राही सुरेश यादव भन्छन्, “हामी चर्को घाममा लाइन बस्नुपरेको छ । यत्रो भीड हुने कार्यालय यस्तो टहरोमा छ, तर नजिकैको  जिल्ला समन्वय समिति (जिसस) भवन खालीजस्तै छ । यहीँ व्यवस्थापन गरे धेरै सहज हुन्थ्यो, तर कसले सुन्ने, कसले पहल गर्ने खै ?”
उक्त कार्यालय हाल भाडाको जग्गामा सञ्चालन हुँदै आएको छ र मासिक करिब ६० हजार रुपैयाँ भाडा तिर्दै आएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा २१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने चालू आर्थिक वर्षमा हालसम्म १९ करोडभन्दा बढी राजस्व उठिसकेको छ ।

कार्यालयको भौतिक अवस्था अत्यन्तै कमजोर रहेको छ । “कार्यालय निकै नै साँघुरो छ, त्यसैले अन्यत्र उपयुक्त स्थान खोजिरहेका छौँ । पुरानो करदाता सेवा कार्यालयको भवन उपयुक्त हुन सक्छ, तर हाम्रो प्रयासले मात्रै सम्भव हुँदैन” कार्यालय प्रमुख राजकुमार घिमिरेले भने ।

स्थानीय स्तरमै पर्याप्त भौतिक संरचना उपलब्ध हुँदाहुँदै पनि सेवाग्राहीले सास्ती खेप्नुपर्ने अवस्था अन्त्य गर्न सरोकारवाला निकायले समन्वय र पहल गर्नुपर्ने जरुरी देखिएको छ । पछिल्लो समय देशै भरका जिल्ला समन्वय समितिको कार्यालयको औचित्य माथी समेत प्रश्न उठ्दै आएको छ भने,खारेजीको विषय समेत उठ्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?