© 2026
नेपालगन्ज । नेपालगन्जस्थित राँझा विमानस्थल बाट हवाई यात्रुलाई थप सहजता प्रदान गर्ने उद्देश्यले मङ्गलबारदेखि निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याइएको छ ।
यात्रुलाई विमानस्थलसम्म आवत–जावतमा सहज बनाउने लक्ष्यसहित सुरु गरिएको यो सेवा स्थानीय स्तरमै स्वागतयोग्य कदमका रूपमा हेरिएको छ । विमानस्थल कार्यालयका प्रमुख सन्तोष पोखरेलका अनुसार विमानस्थल परिसरदेखि करिब डेढ किलोमिटर दूरीमा रहेको राँझा चोक सम्म यात्रुलाई ओसार–पसार गर्न बिहानदेखि नै सटल बस सञ्चालनमा ल्याइएको हो ।
छोटो दूरीमा निश्चित स्थानबिच नियमित रूपमा आवत–जावत गर्ने यस सेवाले यात्रुको समय र खर्च दुवै बचत गर्ने अपेक्षा गरिएको छ । सटल बसले राँझा चोकबाट विमानस्थल आउने तथा त्यहाँबाट प्रस्थान गर्ने यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित यातायात सुविधा दिने विश्वास गरिएको छ।
सेवा सुरु भएको पहिलो दिनमै काठमाडौँबाट आएका बुद्ध एयर का यात्रुलाई सटल बसमार्फत राँझा चोकसम्म पु¥याइएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल प्रमुख पोखरेलका अनुसार विभिन्न स्थानबाट सार्वजनिक सवारी प्रयोग गरी राँझा चोकसम्म आइपुग्ने यात्रुहरूलाई अब विमानस्थलसम्म पुग्न झन्झट बेहोर्नु पर्ने छैन। यसले यात्रुहरूको अनुभवलाई थप सहज बनाउने विश्वास लिइएको छ ।
यसैबिच, यात्रु सेवा विस्तारलाई अझ व्यवस्थित बनाउन अत्याधुनिक नयाँ टर्मिनल भवन पनि आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ । काठमाडौँबाट आउने यात्रुलाई अब नयाँ टर्मिनलमार्फत बाहिर ल्याउन थालिएको छ ।
निःशुल्क सटल बस सेवा र आधुनिक टर्मिनल भवन सञ्चालनसँगै राँझा विमानस्थलले यात्रु सेवा सुधारतर्फ महत्त्वपूर्ण फड्को मारेको छ । यसले नेपालगन्ज क्षेत्रको हवाई यात्रा थप सहज, व्यवस्थित र यात्रुमैत्री बन्ने अपेक्षा गरिएको छ ।