Butwal Today

लुम्बिनीमा नमुना युवा संसद अभ्यास सुरु

१४ बैशाख २०८३, सोमबार
अ+
अ-

बुटवल । प्रदेश युवा परिषद् लुम्बिनीको आयोजनामा आजदेखि “नमुना युवा संसद अभ्यास कार्यक्रम” सुरु भएको छ। कार्यक्रम १४ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने छ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १६ देखि २४ वर्ष उमेर समूहका युवाहरूको उत्साहजनक सहभागिता रहेको छ। युवालाई लोकतान्त्रिक अभ्यास, नीति निर्माण प्रक्रिया तथा नेतृत्व विकासतर्फ अभिमुख गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको परिषद्ले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले युवा उमेर जोश, जागर र सिर्जनशीलताको समय भएकाले यसलाई सही दिशामा प्रयोग गर्न आवश्यक रहेको बताए। उनले सरकारले युवामा गरेको लगानीको प्रतिफल दिन युवाहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै सक्रिय सहभागिताका लागि आग्रह गरे।

परिषद्का सदस्य राधा बस्नेतले युवाको बढ्दो वैदेशिक पलायन रोक्ने लक्ष्यसहित परिषद्ले विभिन्न कार्यक्रम अघि बढाइरहेको जानकारी दिइन्। उनले युवालाई स्वदेशमै टिकाउन र उत्पादनशील बनाउने सीप विकासका कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै नमुना युवा संसद अभ्यासले युवालाई भविष्यमा नेतृत्व तहसम्म पुग्न मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरिन्।

यसैगरी परिषद्का सचिव खिमबहादुर कुँवरले युवामा रहेको ऊर्जा, सिर्जनशीलता र दृष्टिकोणलाई सही दिशा दिन सकिए देशको विकासले नयाँ गति लिन सक्ने बताए। उनले केवल जोश मात्र पर्याप्त नहुने उल्लेख गर्दै ज्ञान, अनुशासन, सहिष्णुता र जिम्मेवारी पनि उत्तिकै आवश्यक रहेको धारणा राखे।

परिषद्का उपाध्यक्ष हंसराज खनालले नमुना युवा संसद अभ्यास कार्यक्रम युवाहरूका लागि नेतृत्व विकासको प्रभावकारी माध्यम भएको उल्लेख गरे। उनले यस्तो अभ्यासले युवामा नीतिगत सोच, तार्किक बहस र निर्णय क्षमता विकास गर्ने विश्वास व्यक्त गर्दै यसलाई निरन्तरता दिइने बताए।

कार्यक्रममा सहभागी युवाहरूले संसदको कार्यप्रणाली, नीति निर्माण प्रक्रिया, बहस गर्ने शैली तथा लोकतान्त्रिक संस्कारबारे व्यावहारिक अनुभव हासिल गर्नेछन्। आयोजकका अनुसार यो कार्यक्रम केवल अभ्यास मात्र नभई भोलिका सक्षम, जिम्मेवार र सचेत नागरिक तथा नेतृत्व निर्माण गर्ने सशक्त आधारशिला हो।

प्रदेश युवा परिषद् लुम्बिनीले प्रत्येक वर्ष निरन्तर रूपमा सञ्चालन गर्दै आएको यो कार्यक्रम युवालाई नेतृत्व तहसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?