© 2026
बुटवल । ग्याँस विक्रेता सङ्घ रुपन्देहीको १२ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।
बुटवल उद्योग वाणिज्य सङ्घको सभा हलमा शनिबार सम्पन्न भएको अधिवेशनले रुपन्देहीका ग्याँस व्यवसायीहरूको नयाँ नेतृत्व चयन गरेको छ । व्यवसायी एकता र उपभोक्ता सुरक्षाको नारालाई आत्मसाथ गर्दै सम्पन्न भएको कार्यक्रमले कल्पना कुँवरको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षतर्फ राममिलन यादव र ज्ञानेन्द्र बन्जाडे, महासचिवमा सूर्य खनाल, सचिवमा प्रकाश तिवारी र कोषाध्यक्षमा सुनिता पाण्डे चयन भएकी छन् ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष प्रदिप प्रसाद पन्थ तथा ग्याँस विक्रेता महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले ग्याँस व्यवसायमा हाल देखिएका नीतिगत र व्यवहारिक समस्याहरू औंल्याए ।
उनले व्यवसायीका समस्यालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने र दुवै पक्ष मिलेर अघि नबढेसम्म सहज आपूर्ति र समस्या समाधान सम्भव नभएको कुरामा जोड दिए ।
त्यस्तै, विशिष्ट अतिथिको रूपमा बोल्दै बुटवल उद्योग वाणिज्य सङ्घका महासचिव मुक्ति अधिकारीले ग्याँस व्यवसायको संवेदनशीलताबारे ध्यानाकर्षण गराए । उनले ग्याँस प्रज्वलनशील पदार्थ भएकाले व्यवसाय सञ्चालन गर्दा सुरक्षा मापदण्डमा कुनै सम्झौता नगर्न र सधैँ चनाखो रहन व्यवसायीहरूलाई आग्रह गरे ।
कार्यक्रममा निवर्तमान अध्यक्ष प्रदीप प्रसाद पन्थले आफ्नो कार्यकालमा भएका उपलब्धि र चुनौतीहरूको चर्चा गरे । रुपन्देही भारतीय सीमासँग जोडिएको जिल्ला भएकाले यहाँ अवैध रूपमा हुने ग्याँस तस्करी प्रमुख समस्या रहेको र त्यसका विरुद्ध सङ्घले सक्रिय भूमिका खेलेको उनको भनाइ थियो । उनले नयाँ नेतृत्वलाई व्यवसायीको हकहित र सुरक्षाका लागि दृढ भएर लाग्न शुभकामना समेत दिए ।
अधिवेशनमा उद्योग सङ्घका पूर्व अध्यक्ष सागरमल अग्रवाल, तिलोत्तमा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुरज पंगेनी, पत्रकार महासङ्घका उपाध्यक्ष विश्वास ढकाल र बुटवल ग्याँसका सञ्चालक भुपाल क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित समितिमा विष्णु घिमिरे पन्थी, कमल अधिकारी, मधु उपाध्याय र निराजन कँडेल लगायतका १५ सदस्यहरू रहेका छन्। कार्यक्रमको सञ्चालन महासचिव सूर्य खनालले गरेका थिए ।