Butwal Today

मनोहरामा प्रहरीमाथि ढुंगामुढा भएपछि आईजिपी कार्की फिल्डमा

१३ बैशाख २०८३, आइतबार
अ+
अ-

काठमाडौं । काठमाडौंको मनोहरा नदी किनारमा सुकुम्बासी बस्ती व्यवस्थापनका क्रममा भएको झडपपछि दान बहादुर कार्की स्वयं फिल्डमा पुगेका छन्। प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।

शनिबार थापाथली र गैरीगाउँ क्षेत्रको व्यवस्थापनपछि मनोहरा खोला किनारमा अतिक्रमित संरचना हटाउन पुगेको प्रहरी टोलीमाथि आक्रमण हुँदा करिब एक दर्जन सुरक्षाकर्मी घाइते भएका थिए। परिस्थिती जटिल बनेपछि प्रहरीले तत्काल प्रतिकार नगरी पछि हटेको थियो।

आइतबार बिहानदेखि नेपाल प्रहरी पुनः सो क्षेत्रमा परिचालन भई अतिक्रमण हटाउने कामलाई निरन्तरता दिएको छ। सम्भावित थप तनावलाई मध्यनजर गर्दै प्रहरी महानिरीक्षक कार्की स्वयं स्थलगत अनुगमनका लागि मनोहरा पुगेका हुन्।

फिल्डमै पुगेर उनले सुरक्षाकर्मीलाई मानवीय संवेदनशीलता कायम राख्दै सौहार्दपूर्ण वातावरणमा काम गर्न निर्देशन दिएका छन्। साथै, स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरी समस्या समाधानमा सहकार्य गर्न र प्रहरीलाई सहयोग गर्न आग्रह गरेका छन्।

प्रहरी नेतृत्व नै घटनास्थलमा पुगेपछि सुरक्षा व्यवस्थापन थप मजबुत भएको तथा अतिक्रमण हटाउने कार्य अझ व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढिरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?