© 2026
काठमाडौं । होटल व्यवसायी महासंघ नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत उद्धार गरिएका नागरिकहरूको व्यवस्थापनमा सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ।
महासंघले आइतबार एक वक्तव्य जारी गर्दै काठमाडौंको थापाथली लगायतका जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्धार गरिएका नागरिकहरूलाई सुरक्षित आश्रय उपलब्ध गराउन आफ्ना सदस्य होटलहरू परिचालन गर्न सकिने जानकारी दिएको हो।
महासंघका अनुसार काठमाडौं उपत्यकामा रहेका सदस्य संस्थामार्फत आवश्यक समन्वय गरी करिब १ हनार जनासम्म नागरिकलाई अस्थायी रूपमा सुरक्षित बसोबासको व्यवस्था मिलाउन सकिने क्षमता रहेको छ। उद्धार गरिएका व्यक्तिहरूको सम्मान, सुरक्षा र आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थित आवास उपलब्ध गराउने प्रतिबद्धता पनि महासंघले व्यक्त गरेको छ।
महासंघका अध्यक्ष टी.आर.भण्डारीले सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय, व्यवस्थापन र सहकार्य गर्न महासंघ तयार रहेको बताएका छन्।विपद् वा संकटका बेला निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै महासंघले मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ।