© 2026
काठमाडौं । दुई महिनाअघि प्रतिनिधि सभाको चुनाव प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुम्बासी समुदायलाई लक्षित गर्दै दिएको अभिव्यक्ति अहिले फेरि चर्चामा आएको छ। त्यतिबेला उनले “डोजर गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा चल्नेछ” भन्दै आश्वस्त पारेका थिए। तर, सरकार गठन भएको एक महिनामै काठमाडौँका सुकुम्बासी बस्ती खाली गराउने तयारी सुरु भएपछि उक्त अभिव्यक्ति विवादमा परेको हो।
चुनावताका उक्त भाषणबाट प्रभावित भएका थापाथली क्षेत्रका सुकुम्बासीहरूले घरघरमा रास्वपाको झण्डा राखेका थिए। रास्वपाले चुनावमा उल्लेखनीय सफलता हासिल गर्दै सरकार गठन गरेपछि उनीहरूमा ठूलो आशा जागेको थियो। तर, अहिले उनीहरू बसोबास गर्दै आएको बस्तीमा डोजर चलाउने तयारी भएपछि निराशा छाएको देखिन्छ। वैशाख १० गते बेलुकादेखि बस्ती खाली गराउन माइकिङ गरिएपछि स्थानीयमा त्रास फैलिएको छ। केहीले प्रतिरोधको आवाज उठाए पनि बलियो सरकारको निर्णयअगाडि उनीहरूको प्रयास कमजोर देखिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले भने नदी किनारका बस्तीहरू बाढीको उच्च जोखिममा रहेकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागिएको बताएका छन्। “थापाथली, गैरीगाउँ र मनोहरा लगायत क्षेत्रका बस्तीहरूलाई मानवीय ढंगले सुरक्षित स्थानमा सारिनेछ,” उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।
यसबीच, रास्वपाभित्रै पनि निर्णय प्रक्रियाबारे असन्तुष्टि देखिएको छ। पार्टीका केही नेताहरूले पर्याप्त छलफल नगरी निर्णय लिइएको गुनासो गरेका छन्। “सरकारको निर्णय हो, तर किन यति हतार गरियो भन्ने स्पष्ट छैन,” एक पदाधिकारीले बताएका छन्।अर्कोतर्फ, सुकुम्बासीको वास्तविक पहिचान आवश्यक रहेकोमा नेताहरूबीच सहमति देखिन्छ। प्रधानमन्त्री निकट सांसद राजुनाथ पाण्डेले “वास्तविक सुकुम्बासीको व्यवस्थापन गरिने र अतिक्रमण हटाइने” बताएका छन्।
काठमाडौँ महानगरपालिकाले पनि केन्द्र सरकारको निर्देशनअनुसार बस्ती खाली गराउने समन्वय गरिरहेको जनाएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार सुरक्षा निकायसँग सहकार्य गर्दै प्रक्रिया अघि बढाइएको हो। सरकारले व्यवस्थापनको आश्वासन दिए पनि स्पष्ट विकल्प नदिइकन गरिएको हटाउने प्रक्रिया प्रति सुकुम्बासी समुदायमा अन्योल र असन्तुष्टि बढ्दो छ। चुनावी प्रतिबद्धता र वर्तमान कार्यशैलीबीचको अन्तरले सरकारप्रति विश्वासको प्रश्न समेत उठाएको छ।