© 2026
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. २ को आयोजनामा वडास्तरीय बालमञ्च तथा मिलन बाल क्लबका लागि तीन दिने उद्घोषण तालिम तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुनिल शाक्यले बालबालिकामा सानैदेखि लगानी गरिए भविष्यमा सकारात्मक प्रतिफल प्राप्त हुने बताउँदै वडाले हरेक आर्थिक वर्षमा बालबालिका लक्षित विभिन्न शीर्षकमा बजेट विनियोजन गर्दै आएको जानकारी दिए। उनले वडाका गतिविधिमा बालबालिकाको सक्रिय सहभागिता उत्साहजनक रहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आफू प्रतिबद्ध रहेको बताए।
कार्यक्रम संयोजक गौतम शाक्यले आजका बालबालिका भोलिका देशका कर्णधार भएको उल्लेख गर्दै उनीहरूको नेतृत्व तथा व्यक्तित्व विकासका लागि वडाले लगानी गरिरहेको बताए। उनले बालबालिकाको समग्र विकासका लागि अभिभावक, शिक्षक र सरकारबीच समन्वय आवश्यक रहेकोमा जोड दिए।
३० जना बालबालिकाको सहभागिता रहेको उक्त तालिममा सञ्चारकर्मी गोपाल अधिकारी र एच।वी। रम्तेलले सहजीकरण गरेका थिए। कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको चित्रकला प्रतियोगिताले बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।