Butwal Today

सूचनाको हक र साइबर सुरक्षा अभिमुखीकरण, नागरिक पहुँच सुदृढ गर्न जोड

१० बैशाख २०८३, बिहीबार
अ+
अ-

बुटवल । नागरिकको मौलिक अधिकारका रूपमा स्थापित सूचनाको हकलाई व्यवहारमा प्रभावकारी बनाउँदै डिजिटल युगमा साइबर सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिका वडा नं. ७ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

पब्लिक भ्वाईस नेपालको आयोजना तथा बुटवल–७ को समन्वयमा आयोजित कार्यक्रममा बोल्दै वडा अध्यक्ष पदमराज गाहाले वडाबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन पहल भइरहेको बताए। सेवामा केही कमी–कमजोरी देखिए नागरिकबाट रचनात्मक सुझाव अपेक्षित रहेको उल्लेख गर्दै उनले “हरेक सेवा वडामै उपलब्ध गराउने र नागरिकलाई सहज पहुँच दिने” प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वडा कार्यालयकी कर्मचारी ममता क्षेत्रीले वडाको क्षेत्राधिकार, सेवा प्रवाहको प्रक्रिया तथा नागरिकले पाउने सुविधाबारे विस्तृत सहजीकरण गरेकी थिइन्। यसैगरी, पब्लिक भ्वाइस नेपालकी अध्यक्ष राधा बस्नेतले सूचनामा नागरिकको पहुँच, सूचना माग गर्ने कानुनी प्रक्रिया तथा बढ्दो डिजिटल प्रयोगसँगै आवश्यक साइबर सुरक्षा सचेतनाबारे प्रशिक्षण दिएकी थिइन्।

अभिमुखीकरण कार्यक्रममा वडा सदस्य सन्दीप खनाल, टोल विकास संस्थाका अध्यक्षहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। कार्यक्रमले नागरिकलाई सूचनाको हक प्रयोग गर्न सक्षम बनाउनुका साथै सुरक्षित डिजिटल अभ्यासतर्फ उन्मुख गराउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?