Butwal Today

शान्तिका लागि साइकल यात्रा’ काठमाडौँबाट लुम्बिनीसम्म

१० बैशाख २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल फर पिस २०२६’ आयोजना हुने भएको छ । टुर दी लुम्बिनीले पत्रकार सम्मेलन गरी यही वैशाख १५ गतेदेखि १९ गतेसम्म काठमाडौँबाट लुम्बिनीसम्म साइकलयात्रा गर्न लागिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा टुर दी लुम्बिनीका संस्थापक अशोका फेलो मेघ आलेले शान्तिका लागि आयोजना गरिएको साइकलयात्रामा नेपाल तथा विदेशका साइकलयात्री, युवा, कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीको सक्रिय सहभागिता रहने जानकारी दिए । शान्ति, सहअस्तित्व र पुननिर्माणको सन्देशलाई जनस्तरसम्म पु¥याउने लक्ष्यसहित सन् २०१२ देखि यो अभियान सञ्चालन हुँदै आएको छ ।

सामाजिक उद्यमीसमेत रहनुभएका आलेको अवधारणामा सुरु भएको उक्त अभियानलाई विश्व साइकलयात्री पुष्कर शाहले नेतृत्व गर्दै आएका छन। गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसहित अभियानले नेपाललाई अन्तरराष्ट्रियस्तरमा ‘शान्ति केन्द्र’का रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिएको छ ।

नेपाल भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्रबीच अवस्थित भएकाले विश्व शान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थापक आलेले विश्वास व्यक्त गरे । उक्त अभियानमार्फत नेपाललाई शान्ति संवादको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने प्रयास गरिएको उनले बताए । पत्रकार सम्मलेनमा संस्थापक आलेले विश्वव्यापी रूपमा रूस–युक्रेन युद्ध तथा अमेरिका–इरान तनावजस्ता घटनाले बढाएको अस्थिरताका सन्दर्भमा यस किसिमका शान्ति अभियानको महत्व अझै बढेको बताए । उनका अनुसार अभियानले भविष्यमा शान्ति क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई ‘लुम्बिनी शान्ति पुरस्कार’ प्रदान गर्ने योजना पनि अघि सारेको छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले यस किसिमका कार्यक्रमले नेपाललाई अन्तरराष्ट्रिय रूपमा ब्रान्डिङ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?