© 2026
बर्दिया । बर्दियाका किसानहरू हिउँदे मकै खेतीतर्फ आकर्षित हुँदै गएका छन् । परम्परागत रूपमा गहुँ र मसुरो खेती गर्दै आएका किसानहरू अहिले मकैलाई प्रमुख आम्दानीको स्रोत बनाउन थालेका छन् ।
गुलरिया नगरपालिका, बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिका र मधुवन नगरपालिकाका किसानहरू मकै खेती विस्तारमा सक्रिय देखिन्छन् ।
यस वर्ष जिल्लामा करिब ४ हजार हेक्टर क्षेत्रमा मकै खेती गरिएको छ, जुन गत वर्षको ३५ सय हेक्टरभन्दा बढी हो । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका अनुसार मकै खेती क्षेत्रफल विस्तारसँगै उत्पादन पनि निरन्तर बढ्दै गएको छ ।
यस वर्ष करिब २० हजार मेट्रिक टन मकै उत्पादन हुने अनुमान गरिएको कार्यालय प्रमुख कमला अधिकारीले बताइन् ।
उनका अनुसार बर्खे मकैको तुलनामा हिउँदे मकैबाट करिब तीन गुणासम्म बढी उत्पादन हुने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन् । सुरुमा गुलरिया क्षेत्रमा सीमित रहेको हिउँदे मकै खेती अहिले जिल्लाका अन्य क्षेत्रमा पनि फैलिँदै गएको छ ।
गुलरिया नगरपालिका–१२ का किसान श्रीकृष्ण थारुले हिउँदे मकैले आफ्नो जीवनस्तर सुधारिएको बताए । “२०६८ सालमा पहिलो पटक तीन कट्ठाबाट सुरु गरेको खेती अहिले करिब पाँच बिघासम्म विस्तार गरेको छु,” उनले भने, “वार्षिक करिब चार सय क्विन्टल मकै उत्पादन हुन्छ, जसबाट झन्डै १५ लाख रुपैयाँ आम्दानी हुन्छ ।”
उनका अनुसार आधुनिक कृषि प्रविधि अपनाएपछि उत्पादन र आम्दानी दुवै बढेको छ । तर, उनले कृषि उपजको मूल्य स्थिर नहुँदा किसानहरू मारमा परेको गुनासो पनि गरे ।
त्यस्तै, बढैयाताल गाउँपालिका–५ का किसान विहारी सिंह थारुले पहिलो वर्षमै हिउँदे मकैबाट राम्रो उत्पादन पाएको अनुभव सुनाए । “पहिला गहुँ खेती गर्दा सोचेअनुसार उत्पादन हुन्थेन,” उनले भने, “तर मकैले पहिलो वर्षमै राम्रो नतिजा दिएको छ । अब सबै खेतमा विस्तार गर्ने योजना छ ।”
किसानहरूका अनुसार गहुँको तुलनामा मकै खेतीमा मेहनत र लगानी बढी लागे पनि उत्पादन र बजार मूल्य राम्रो हुने भएकाले यसतर्फ आकर्षण बढेको छ ।
तर, किसानहरू उत्साहित भए पनि चुनौतीहरू पनि उस्तै छन् । भारतीय मकैको प्रतिस्पर्धा, खुला सीमाका कारण हुने अस्वस्थ बजार, तथा मूल्य अस्थिरताले स्थानीय किसानलाई दबाबमा राखेको छ ।
बबई सिँचाइ आयोजनाबाट वर्षभरि सिँचाइ सुविधा उपलब्ध भए पनि बीउ, मल र कीटनाशक औषधिको अभावले उत्पादनमा समस्या देखिएको किसानहरूको भनाइ छ । भारतीय बीउले छिटो उत्पादन दिने भए पनि सरकारको तर्फबाट गुणस्तरीय बीउ उत्पादन र मल आपूर्तिमा ध्यान दिनुपर्ने आवश्यकता किसानहरूले औँल्याएका छन् ।
विशेषज्ञहरूका अनुसार बर्दियामा मकै खेतीले कृषि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै गएको छ । तर, उत्पादनलाई दिगो बनाउन बीउ, मल व्यवस्थापन र बजार स्थिरता अत्यावश्यक रहेको उनीहरूको भनाइ छ ।
हिउँदे मकैले बर्दियाका किसानलाई नयाँ आशा दिएको छ, तर त्यसलाई स्थायी आम्दानीमा बदल्न राज्यको सहयोग र उचित कृषि नीति अझै आवश्यक देखिन्छ ।