Butwal Today

गुलरियामा अपाङ्गता भएका बालबालिकाको घुम्ती शिविर मार्फत निःशुल्क स्वास्थ्य परीक्षण

९ बैशाख २०८३, बुधबार
अ+
अ-

बर्दिया । बर्दियाको गुलरियामा अपाङ्गता भएका बालबालिकाका लागि निःशुल्क शारीरिक अपाङ्गता परीक्षण सम्बन्धी घुम्ती शिविर सम्पन्न भएको छ ।

विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, बनेपा–११ काभ्रेपलान्चोकको आयोजना तथा बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्र र आईएनएफको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।

बहु आयामिक पुनर्स्थापना सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको एक दिने शिविरबाट ३५ बालक, २३ बालिका र ६ जना पुरुष गरी कुल ६४ जना लाभान्वित भएका छन् ।

गुलरिया नगरपालिका वडा नम्बर ६ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा सोमबार आयोजित शिविरमा पहिचान तथा स्वास्थ्य परीक्षण गरिएका मध्ये १९ जनाको नाप जाँच गरिएको, ७ जनालाई विशेष जुत्ता वितरण गरिएको, ६ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको र ४ जनालाई थप परीक्षणका लागि रिफर गरिएको लुम्बिनी प्रादेशिक पुनर्स्थापना केन्द्र, कोहलपुर बाँकेका प्रशासन तथा लेखा सहायक मीनबहादुर चन्दले  जनकारी दिए ।

शिविरमा जन्मजात वा पछि देखिएका खुट्टाका समस्या (पैताला भित्र वा बाहिर फर्किएको), खुट्टा कमजोर वा लुलो भएको, भाँचिएको, बाङ्गिएको वा हड्डी नजोडिएको, हड्डीमा सङ्क्रमण भई लामो समयदेखि पीप आउने, जोर्नी दुख्ने, सुन्निने वा खुस्किने, ढाड कुप्रो हुने लगायतका हाड जोर्नीसम्बन्धी समस्याबाट प्रभावित बालबालिकाको परीक्षण गरिएको थियो ।

साथै कृत्रिम अङ्ग तथा अर्थोपेडिक सहायक सामग्री आवश्यक पर्ने बालबालिकाको समेत पहिचान गरिएको जनाइएको छ ।

शिविरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. पारस खकुरेल, फिजियोथेरापिस्ट दीपेश देउला र स्टाफ नर्स शशिकला महतसहितको टोलीले सेवा प्रदान गरेको थियो ।

टोलीले शल्यक्रिया आवश्यक पर्ने, थप उपचारका लागि सिफारिस गर्नुपर्ने बालबालिकाको पहिचान, जुत्ताको नाप जाँच, परामर्श, फिजियोथेरापी तथा औषधि वितरणलगायत सेवा प्रदान गरेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, कोहलपुरका प्रमुख लेखनाथ पौडेलले जानकारी दिए ।

यो अभियान पालिकाको हरेक वडामा पालैपालो शिविर सञ्चालन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?