© 2026
म्याग्दी । गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरू हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ ।
हिउँद याममा चिसो छल्न र आहराका लागि बेँसीका फाँटहरूमा ल्याइएका भेडा बाख्रा र गाई भैँसीका गोठ लेकतर्फ लैजान थालिएको हो । धवलागिरि गाउँपालिका–३ हुचिन र सोलवाङमा पाँच महिना राखेको गोठ लेकतर्फ लैजान मुनाको जौबारीमा सारेको स्थानीय किसान यामप्रसाद पुनले बताए ।
“बेँसीका फाँटमा बर्खेबाली लगाएपछि हप्ता र दश दिनको अन्तरमा घुम्ती गोठ सार्दै हिमालतिर जान्छौँ”, उनले भने, “पाँच हजार मिटर उचाइको बुकी पाटनमा बर्खामा पोसिलो घाँस खुवाएर चिसो बढ्न थालेपछि गोठ बेँसी झार्ने गर्छौँ ।” बेँसीबाट उकालो लागेका गोठ भदौमा हिमालको फेदीका बुकी पाटनमा पुर्याउने र असोजमा बेँसी झार्ने चलन छ ।
गोठालाहरूले गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ भने लेकका चरन क्षेत्रलाई बुकी पाटन । खर्कमा रहेका ढुङ्गाको पर्खालमा काठ र निगाला तेर्स्याएर त्रिपाल र पाल राखेर अस्थायी गोठ बनाइन्छ । बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर जमिनलाई मलिलो बनाउने चलन छ ।
ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण र धवलागिरि हिमाल आसपासका क्षेत्रमा गोठ लैजाने गरिन्छ । हिमाली क्षेत्रको बुकीको पोसिलो घाँस खाएका पशु चौपाया स्वास्थ्य, बलिया र दुधालु हुने धवलागिरि गाउँपालिका–५ मल्कवाङका देवान छन्त्यालले बताए ।
धवलागिरिको गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ, मल्कवाङ, रघुगङ्गाको कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम, ठाडाखानी, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, पाउद्धार, शिख, राम्चेका किसानले घुम्ती गोठमा परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गोपाल गिरीले लेकतर्फ लैजानुअघि पशुहरूलाई महामारीविरुद्धको खोप लगाइएको जानकारी दिए । खोरेत, पिपिआर, भ्यागुते, चरचरे र रेबिज रोगबाट पशुलाई बचाउन गण्डकी प्रदेशको पशुमा पूर्णखोप कार्यक्रममार्फत निःशुल्क खोप लगाइएको उनले बताए ।
प्रदेश सरकार र स्थानीय तहहरूले घुम्ती गोठ निर्माणका लागि अनुदानका लागि बजेट विनियोजन गरे पनि नीतिगत समस्याका कारण किसानले सुविधा पाउन सकेका छैनन् । युवा पुस्ताले बेवास्ता गर्दा र वैदेशिक रोजगारीका कारण घुम्ती गोठमा गरिने पशुपालन सङ्कटमा परेको छ ।
लेकाली क्षेत्रमा व्यक्तिगत जग्गा नभएको र सार्वजनिक जग्गामा संरचना बनाउँदा हुने खर्चलाई महालेखा परीक्षक तथा अख्तियार आकर्षित हुने हुँदा बजेट परिचालन हुन नसकेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेसम पुनमगरले बताए ।