Butwal Today

गाउँको पहिचान हराउँदै: ढुङ्गे छाना विस्थापनको सङ्घारमा

८ बैशाख २०८३, मंगलवार
अ+
अ-

सल्यान । “पहिले गाउँमा जताततै ढुङ्गाले छाएका घर हुन्थे, अहिले त गन्न मिल्ने मात्र बाँकी छन्,” यो भनाई सल्यानको कुमाख गाउँपालिका वडा नं, २ डाँडाकटेरीका शेरबहादुर चन्दको हो ।

केही वर्ष अघिसम्म गाउँको चिनारीजस्तै बनेका ढुङ्गे छानाका घरहरू अहिले बिस्तारै हराउँदै गएका छन् । सडक पुगेपछि गाउँमा जस्ता, सिमेन्ट र पक्की घरको चलन बढेको छ । त्यसैसँगै पुरानो शैलीका घरहरू ओझेलमा परेका हुन् ।

जिल्लाका कुमाख, दार्मा, बागचौर, शारदा, वनगाड कुपिण्डे र त्रिवेणीका केही गाउँमा अझै पनि ढुङ्गे छाना भएका घर देख्न सकिन्छ । तर यस्ता घरको सङ्ख्या वर्षेनी घट्दै गएको स्थानीय बताउँछन् ।

कुमाख गाउँपालिका वडा नं, ७ जिमालीमा करिब २५ घर यस्ता छन् भने डाँडाकटेरीमा करिब १५ । सदरमुकाम खलंगामा पनि केही यस्ता घर अझै छन् । बागचौर नगरपालिका, १२ मा अझै चार सयभन्दा बढी पुराना ढुङ्गे छाना भएका घर छन् ।

“पहिले त सबै घर यस्तै हुन्थे,” बागचौर, १२ का गोपिलाल वली भन्छन्, “अहिले नयाँ घर बनाउने सबैले जस्ता पाता वा पक्की रोज्छन् ।” बागचौर, ९ का मोहन चन्दले पनि परम्परागत घरहरू लोप हुँदै गएको बताउँछन् । उनले भने, “ढुङ्गे घर टिकेका छन्, तर अब कसैले बनाउँदैन ।” स्थानीयका अनुसार ढुङ्गे घरमा बस्नु निकै आरामदायी हुन्छ ।

गर्मीमा चिसो र जाडोमा न्यानो हुने भएकाले यस्तो घर स्वास्थ्यका हिसाबले पनि राम्रो मानिन्छ । “जस्ताको घरमा घाम लाग्यो भने त बस्नै गाह्रो हुन्छ,” शेरबहादुर भन्छन्, “ढुङ्गे घरमा भने गर्मी याम तथा चिसो याममा पनि आराम मिल्छ ।”

जिमालीकी रूपा शाही पनि पहिले ढुङ्गे छानाको  घरमै बस्थिन् । “त्यो घरमा बस्दा सजिलो थियो,” उनी भन्छिन्, “अहिले टिनले छाएको घरमा छु, सुविधा त छ, तर पहिलाको जस्तो राम्रो अनुभव छैन ।” पहिले गाउँमै पाइने ढुङ्गा र काठ प्रयोग गरेर घर बनाइन्थ्यो । अहिले कतिपय अवस्थामा काठ काट्न वनले अनुमति दिँदैन ।

ढुङ्गा निकाल्ने ठाउँ पनि धेरै ठाउँमा बन्द छन् । त्यसैले यस्तो घर बनाउन झन्झटिलो र महँगो पर्छ । अर्कोतर्फ जस्तापाता र सिमेन्ट सजिलै पाइन्छ ।

छिटो घर बनाउन सकिन्छ । खर्च पनि तुलनात्मक रूपमा कम पर्छ । त्यसैले गाउँलेहरू आधुनिक घरतर्फ आकर्षित भएका छन् । सडक पुगेपछि गाउँको सोच पनि बदलिएको स्थानीयहरू बताउँछन् ।

सहरमा जस्तो आधुनिक घर बनाउनुपर्छ भन्ने चाहनाका कारण पनि पुरानो घर बनाउनेतर्फ धेरैको रुचि हराएको हो । तर यससँगै गाउँको पुरानो पहिचान हराउँदै गएकोमा चिन्ता थपिएको छ ।

ढुङ्गे छानाका घरहरू बस्ने ठाउँ मात्र नभएर यस्ता घरले पुरानो जीवनशैली, सीप र परम्परा बोकेका हुन्छन् । स्थानीय सामग्री प्रयोग गरेर निर्माण गरिने भएकाले ढुङ्गाले छाएका घर वातावरणमैत्री पनि मानिन्छन् ।

अहिले कतिपय ठाउँमा पुराना घर जोगाएर राख्ने प्रयास भइरहेका छन् । तर त्यो पर्याप्त देखिँदैन । संरक्षण र प्रोत्साहन नपाए केही वर्षमै ढुङ्गे छानाका घरहरू पूर्ण रूपमा हराउने अवस्था आउन सक्ने चिन्ता छ ।

नयाँ घर निर्माण हुँदै जाँदा रघ पुराना र भत्किँदै गर्दा सजिलो र आधुनिकताको नाममा आफ्नै पहिचान बिस्तारै गुम्ने खतरा छ ।गाउँ तथा बजार क्षेत्रमा हिजो आज सक्नेले पक्की पिल्लरवाला घर बनाउन थालेका छन् भने न्यून आय भएका नागरिकले पनि खर र ढुङ्गाको छाना हटाएर जस्तापाताले छाएका घर बनाउने गरेका छन् ।

यसरी सजिलो, छिटो र आधुनिक देखिने विकल्प रोजिँदै जाँदा गाउँका मौलिक ढुङ्गे घरहरू विस्तारै विस्थापित हुने अवस्थामा पुगेका छन् ।

मानिसमा चेतना र पहुँच बढेसँगै नयाँ नयाँ प्रविधि प्रयोग गरेर घर बनाउने प्रवृत्ति बढेको छ । भूकम्पको जोखिमबारे पनि अहिले गाउँसम्म जानकारी पुगेको छ । त्यसैले धेरैले परम्परागत घरलाई असुरक्षित ठानेर पक्की संरचनातर्फ लागेको देखिन्छ । तर जानकारहरू भने परम्परागत ढुङ्गा र माटोका घरलाई पूर्ण रूपमा असुरक्षित भन्न नमिल्ने बताउँछन् ।

आवश्यक प्राविधिक मापदण्ड अपनाएर, सही संरचनात्मक सन्तुलन मिलाएर र बलियो बनाउने उपायहरू प्रयोग गरेमा यस्ता घरहरू पनि भूकम्पीय दृष्टिले सुरक्षित बनाउन सकिने उनीहरूको भनाइ छ ।

पुरानो शैलीलाई पूर्ण रूपमा छाड्नुको सट्टा सुधार गरेर सुरक्षित बनाउनेतर्फ ध्यान दिन सके परम्परा र सुरक्षा दुवै जोगाउन सकिने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?