© 2026
नेपालगन्ज । सबैजसो अत्यधिक भिडभाड देखिने जमुनाह नाकामा यति बेला चहलपहल उल्लेखनीय रूपमा घटेको छ ।
दैनिक उपभोग्य वस्तु किनमेलका लागि भारत जाने–आउने मानिसहरूको सङ्ख्या कम देखिन थालेको छ भने फर्किने यात्रुहरूको हातमा सामान पनि न्यून देखिन्छ । कतिपय त रित्तै फर्किरहेका देखिन्छन् ।
यो परिवर्तनको मुख्य कारण हो, भन्सारमा हालै गरिएको कडाइ । नेपालगन्ज भन्सार कार्यालयले चेकजाँच कडा बनाएपछि नाकाको दृश्य नै फेरिएको छ ।
यसअघि पटक–पटक कडाइ गर्ने प्रयास भए पनि कार्यान्वयनमा चुनौती देखिन्थ्यो । कतिपय अवस्थामा स्थानीय र सुरक्षाकर्मीबिच सामान खोसाखोससम्मको स्थिति सिर्जना हुने गरेको थियो । तर अहिले नाकामा भेटिएका अधिकांश यात्रुहरू भने भन्सारको कडाइलाई सकारात्मक रूपमा लिइरहेका छन् ।
भारतको गोवाबाट फर्किएका नेपालगन्जका समीर भण्डारी भन्छन्, “अब भन्सार छलेर चोरी–तस्करी गर्ने दिन सकिए जस्तो लाग्छ । सरकारले उठाउने कर देशकै विकासमा खर्च हुन्छ, त्यसैले यस्तो कडाइ निरन्तर हुनुपर्छ ।” उनका अनुसार यदि हरेक सामानमा नियमअनुसार कर लिने व्यवस्था कडाइका साथ लागू भयो भने पटक–पटक सामान ओसार्ने प्रवृत्ति स्वतः घट्नेछ ।
भारतको नासिकबाट फर्किएकी डोटीकी कमला भट्टले पनि यस पटक नाकामा फरक अनुभव गरेको बताइन् । “पहिला जुन नाकाबाट नेपाल प्रवेश गरे पनि कहिल्यै भन्सार तिर्नुपरेको थिएन, यस पटक नयाँ लुगामा कर तिर्नुप¥यो,” उनले भनिन्, “तर यसमा मलाई कुनै पछुतो छैन ।
नेपालीको पैसा बाहिर जानु भन्दा देशमै बस्नु राम्रो हो ।” उनले सामाजिक सञ्जालमा देखाइएजस्तो अत्यधिक कडाइ नभई व्यवस्थित रूपमा जाँच भइरहेको अनुभव सुनाइन् ।
नेपालगञ्जकी गीता थापा भने सामान्य किनमेलका सामग्री लिएर फर्किँदै थिइन् । “५ केजी चिनी, केही बिस्कुट र नम्किन ल्याएकी हुँ, यसमा कर लागेन,” उनले भनिन्, “तर प्रहरीले अब धेरै ल्याए भन्सार लाग्छ भनेर सम्झाउनु भयो, यो राम्रो हो ।”
यद्यपि, सबैलाई भन्सारको कडाइबारे पूर्ण जानकारी भने छैन । बाँके कोहलपुरका तीर्थ विश्वकर्मा र रेखा विश्वकर्मा भारतको रूपैडिहा बजार किनमेलका लागि जाँदै थिए । “हामी ठुलो व्यापार गर्न होइन, घरका लागि सामान किन्न जाँदैछौं,” उनीहरूले भने, “यति त ल्याउन दिनु पर्छ नि ।”
नेपालगन्ज भन्सार कार्यालयका अनुसार बाहिर हल्ला भएजस्तो नयाँ नियम लागू गरिएको भने होइन । प्रमुख भन्सार अधिकृत जनाद्र्धन पौडेलका अनुसार एक सय रुपैयाँभन्दा माथि मूल्यका सामानमा भन्सार लाग्ने व्यवस्था पुरानै हो ।
“अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीको सहकार्यमा कडाइका साथ कार्यान्वयन गर्दा नयाँ जस्तो देखिएको मात्र हो,” उनले स्पष्ट पारे । उनका अनुसार सामानको परिमाणअनुसार भन्सार शुल्क निर्धारण गरिन्छ ।
“व्यापारीले ठुलो परिमाणमा ल्याएको सामानमा त कर लाग्छ नै, सर्वसाधारणका साना सामग्रीमा पनि परिमाण हेरेर मात्रै शुल्क लिइन्छ,” उनले भने ।
दैनिक करिब १५ हजार बढी मानिस आवतजावत गर्ने जमुनाह नाकालाई भविष्यमा अझ व्यवस्थित बनाउने योजना पनि रहेको उनले बताए । “विमानस्थल जस्तै व्यवस्थित बनाउन सके यात्रु र भन्सार दुवैका लागि सहज र पारदर्शी हुन्छ,” पौडेलले भने ।
हाल नाकामा चेकजाँचका लागि अस्थायी टहरा निर्माण गरिएको छ भने यात्रुहरूका लागि सामान राख्ने बेन्चको व्यवस्था गरिएको छ । साथै, दिनभर सचेतनामूलक अडियो जिंगल र सूचना बोर्डमार्फत यात्रुलाई नियमबारे जानकारी गराउने काम भइरहेको छ ।
नेपालगन्ज भन्सार कार्यालयले जमुनाह नाकाको यात्रु शाखामा कडाइ गरेको एक सातामा १४ लाख बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । शाखाबाट वैशाख १ देखि ५ गते सम्म १४ लाख ३८ हजार ३ सय ७१ राजश्व उठाउन सफल भएको कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका अनुसार वैशाख १ गते दुई लाख १७ हजार ७ सय ७३ रुपैयाँ सङ्कलन गरेको थियो भने वैशाख ५ गते ३ लाख ७५ हजार ८६ रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । जुन नाकामा कडाइ गरिएको छ त्यो यात्रु शाखा हो ।
जहाँ पैदल यात्री, मोटरसाइकल, कारमा आउँदा ल्याउने सामानको भन्सार दाखिला हुने गरेको छ । मुख्य भन्सार एकीकृत भन्सार जाँच चौकी छुट्टै छ, जहाँबाट आयात निर्यात हुन्छ र दैनिक ठुलो मात्रामा राजश्व असुली हुन्छ ।
भन्सारको यो कडाइले तत्काल सुधारको सङ्केत देखिए पनि दीर्घकालीन प्रभावका लागि भने स्वदेशमै सस्तो र सहज रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने वातावरण हुनुपर्ने देखिन्छ ।
यदि देशभित्रै सहज मूल्यमा सामग्री पाइने अवस्था बनेमा, सीमापार किनमेलको निर्भरता स्वतः घट्नेछ र जमुनाह नाकाको यो परिवर्तन दिगो बन्नेछ ।