Butwal Today

थवाङमा प्रगतिशील सङ्गीत उत्सव २०८३ हुने

८ बैशाख २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य प्रतिष्ठान, काठमाडौँसँगको सहकार्यमा यही वैशाख १९ र २० गते रोल्पाको थवाङ गाउँपालिकामा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ आयोजना गर्ने भएको छ ।

प्रगतिशील गीत–सङ्गीतमार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने, सांस्कृतिक एकता सुदृढ गर्ने, तथा सिर्जनशील अभिव्यक्तिलाई राष्ट्रिय पहिचानसँग जोड्ने उद्देश्यले प्रगतिशील सङ्गीत उत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानकी सदस्य सचिव एवं उक्त कार्यक्रम संयोजक कुस्मा महरा प्रगतिले यस उत्सवलाई सांस्कृतिक दृष्टिले एक महत्त्वपूर्ण राष्ट्रिय कार्यक्रमका रूपमा लिइएको बताईन ।

स्थापनाकालदेखि नै कला, संस्कृति, सङ्गीत तथा नाट्य क्षेत्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउँदै आएको प्रतिष्ठानले बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपाली समाजको विविधतालाई सम्मान गर्दै त्यसको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको उनले बताईन । समाज रूपान्तरणको चेतना बोकेको प्रगतिशील साङ्गीतिक धारालाई केन्द्रमा राख्दै यस वर्ष ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ आयोजना गर्न लागिएको बताउँदै संयोजक महराले यसलाई केवर मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई समाज परिवर्तन, जनचेतना अभिवृद्धि र सांस्कृतिक जागरणको सशक्त साधनका रूपमा स्थापित गर्ने लक्ष्य राखेको महराले बताईन ।

समाजमा विद्यमान असमानता, विभेद, अन्याय तथा कुरीतिविरुद्ध सचेतना फैलाउने तथा समानता, समावेशिता र सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रगतिशील सङ्गीतले खेलेको भूमिका ऐतिहासिक रहेको र त्यसको पहिचानका लागि कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले जानकारी दिईन । ऐतिहासिक पृष्ठभूमिलाई आत्मसात गर्दै उक्त उत्सवले साङ्गीतिक अभिव्यक्तिलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको गरिएको उनले बताईन ।

यस उत्सवको पहिलो दिन उद्घाटन समारोहसँगै सहभागी प्रगतिशील क्षेत्रका कलाकारको सांस्कृतिक परिचय तथा विशेष साङ्गीतिक प्रस्तुति रहनेछ । दोस्रो दिन संवाद, अन्तरक्रिया, कार्यशाला तथा प्रगतिशील सङ्गीतका विविध आयाममा केन्द्रित प्यानल डिस्कोर्स गरी नेपालमा प्रतिशील सङ्गीतको भूमिका र महत्त्वको निष्कर्ष प्रस्तुत गरिनेछ । यस्तै वरिष्ठ प्रगतिशील गीतकार, सङ्गीतकार तथा गायकको वेजोड प्रस्तुतिसहित प्रगतिशील सङ्गीत उत्सव–२०८३ समापन गरिनेछ ।

उत्सवमा देशभरका प्रगतिशील गीत–सङ्गीतका अग्रज कलाकार, उदीयमान प्रतिभा, सांस्कृतिक समूह, शोधकर्ता, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारण दर्शकको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको प्रतिष्ठानका उपकुलपति शम्भु राईले बताए ।यस्तै महिला, दलित, आदिवासी–जनजाति तथा सीमान्तकृत समुदायको सक्रिय सहभागितालाई विशेष प्राथमिकता दिइने र त्यसले समावेशी सांस्कृतिक वातावरण निर्माणमा टेवा पुग्ने विश्वास गरिएको उनले बताए । उनले प्रगतिशील गीत संगीत संरक्षणको अभावमा कलाकारसँग हराएर गइरहेको भन्दै चिन्ता प्रकट गरे ।

रोल्पाको थवाङ गाउँपालिकामा आयोजना हुन लागेको यस उत्सवले स्थानीयस्तरमा मात्र नभई राष्ट्रियस्तरमा पनि विशेष महत्त्व राख्ने छ । ऐतिहासिक, सामरिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थानका रूपमा चिनिएको रोल्पा प्रगतिशील विचार र सामाजिक चेतनाको केन्द्रका रूपमा परिचित रहँदै आएको छ ।त्यसैले यस स्थानमा आयोजना हुन लागेको उत्सवले स्थानीय सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा थप सुदृढ बनाउने विश्वास गरिएको छ । यस उत्सवले स्थानीय कलाकारको क्षमता अभिवृद्धि गर्नुका साथै संस्कृतिको क्षेत्रमा संभावनाका ढोका खुल्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

उत्सवमार्फत प्रगतिशील गीत–सङ्गीत क्षेत्रका अग्रज तथा नयाँ पुस्ताबीच सांस्कृतिक सेतु निर्माण गर्ने, सामाजिक एकता रसमावेशितालाई सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने र प्रगतिशील साङ्गीतिक धारा राष्ट्रको मुल साङ्गीतिक प्रवाह भएकाले पहिचान स्थापित गर्दै अन्तरराष्ट्रियस्तरमा नेपालको साङ्गीतिक छवि स्थापित गर्ने दीर्घकालीन उद्देश्य पनि यस उत्सवसँग जोडिएको संयोजक कुस्मा महराले बताईन ।

संस्कृति राष्ट्रको पहिचान, अस्तित्व र विकासको आधारभूत स्तम्भ हो । गीत, सङ्गीत, नाटक र नृत्यजस्ता विधा नेपाली संस्कृतिलाई पूर्णता दिने मूल आधार हुन् । यी आधारले समाजलाई जोड्ने, अग्रगामी चेतना फैलाउने तथा सकारात्मक परिवर्तनको मार्ग प्रशस्त गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । यसै सन्दर्भमा आयोजना हुन लागेको ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ ले नेपाली समाजमा थप सकारात्मक सोच, सहकार्य र सहअस्तित्वको भावना अभिवृद्धि गर्दै समुन्नत र समावेशी राष्ट्र निर्माणमा योगदान पुर्‍याउने विश्वास गरिएको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?