Butwal Today

चल्लाले फेर्‍यो जीवन

७ बैशाख २०८३, सोमबार
अ+
अ-

चन्द्रौटा (कपिलवस्तु)  । कपिलवस्तुको शिवराज नगरपालिका–३ भितरिया गाउँ, जहाँ जङ्गलको छेउमै सानो बस्ती छ । यहाँका अधिकांश परिवारहरू दैनिक ज्याला मजदुरीमा निर्भर छन् ।

जहाँ जीवन सधैँ सङ्घर्षसँगै गुज्रिन्छ तर, यस्तै सङ्घर्षबिच केही दिनअघि आएको एउटा सानो सहयोगले यहाँका केही परिवारको जीवनमा ठुलो आशा जगाएको छ ।

गत चैत १९ गते भेटेरिनरी अस्पताल कपिलवस्तुको पहलमा यहाँका विपन्न परिवारलाई ३० वटा कोइलर कुखुराका चल्ला वितरण गरियो । पहिलो नजरमा सानो देखिने यो सहयोगले भने यहाँका स्थानीयका लागि नयाँ सम्भावनाको ढोका खोलिदिएको छ ।

स्थानीय सुशिला थारुका लागि यो सहयोग केवल चल्ला मात्र नभएर भविष्यको आधार बनेको छ । उनी भन्छिन्, “हामी त दिनभरि मजदुरी गरेर घर चलाउँछौँ । कहिले काम पाइन्छ, कहिले पाइँदैन ।

कुखुराले अहिले खुसी मात्र होइन, भोलिको आशा पनि दिएको छ । उनको आँगनमा साना चल्लाहरू चिर बिराउँदै दौडिरहेको दृश्यले उनीमा उत्साह स्पष्ट थपिएको छ ।” यस अघि पनि कुखुरा पालन गर्दै आए यस पटक अनुदानमा चल्ला पाउँदा निकै उत्साहित हुँदै अब थप केही गर्न सक्ने आँट आएको उनको भनाइ छ ।

यस्तै, आशा थारु पनि यो कार्यक्रमबाट निकै उत्साहित छिन् । भितरिया गाउँको हरियाली स्वावलम्बन समूहकी अध्यक्षसमेत रहेकी उनी भन्छिन्, “गाउँका विपन्न परिवारलाई लक्षित गरेर यस्तो कार्यक्रम ल्याइनु निकै राम्रो कुरा हो ।

यसले आम्दानी मात्र होइन, पोषणमा पनि सुधार ल्याउँछ ।” भितरिया गाउँमा देखिएको परिवर्तन केवल एउटा बस्तीमा सीमित छैन । यो पहल शिवराज नगरपालिकामा मात्र सीमित नरही अन्य क्षेत्रमा समेत विस्तार हुँदै गएको छ । यसले ग्रामीण भेगका समुदायमा थप विपन्न परिवारहरूमा पनि आशा जगाउने काम गरेको छ ।

बुद्धभूमि नगरपालिका–९ मैटहवाकी सुमित्रा थारु पनि यही कार्यक्रमकी लाभग्राही हुन् । उनीका लागि यो सहयोग केवल आर्थिक अवसर मात्र होइन, आत्मविश्वास बढाउने माध्यम बनेको छ । पहिले हामी अरूमा भर पर्ने गरेको बताउँदै अहिले आफ्नै प्रयासले केही गर्न सक्छौँ भन्ने हिम्मत आएको बताएकी छन् । उनका अनुसार महिलाहरूको आत्मविश्वास नै सबैभन्दा ठुलो उपलब्धि हो ।

थारुले पोषण सुधारतर्फ पनि यो कार्यक्रमको प्रभाव देखिन थालेको बताइन् । “गाउँमा पहिले अण्डा र मासु सजिलै पाइँदैनथ्यो,” सुमित्रा भन्छिन्, “अब आफ्नै घरमा कुखुरा भएपछि बालबालिका र गर्भवती महिलालाई पोसिलो खाना दिन सजिलो भएको छ । यसले स्वास्थ्यमा पनि सुधार ल्याउँदै छ ।”

यता भेटेरिनरी अस्पताल कपिलवस्तुका प्रमुख डा. सुकई प्रसाद थारु यसलाई ग्रामीण आर्थिक सशक्तीकरणको प्रभावकारी उपायका रूपमा हेर्छन् । उनी भन्छन्, “हामीले विशेषगरी विपन्न र सीमान्तकृत परिवारलाई लक्षित गरेर यस्तो कार्यक्रम ल्याएका हौँ । कुखुरा पालन कम लगानीमा सुरु गर्न सकिने र छिट्टै प्रतिफल दिने व्यवसाय हो, जसले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ ।”

डा. थारुका अनुसार कार्यक्रमको उद्देश्य केवल चल्ला वितरण मात्र होइन, दिगो आयआर्जनको आधार तयार गर्नु हो । “हामीले प्राविधिक सहयोग, आवश्यक परामर्श र अनुगमनलाई पनि सँगसँगै अगाडि बढाएका छौँ,” उनले भने, “यसले दीर्घकालीन रूपमा परिवारको आर्थिक अवस्था सुधार गर्न मद्दत पु¥याउँछ ।” उनले थपे, “यदि स्थानीय तह, समुदाय र प्राविधिक निकायबिच सहकार्य बलियो भयो भने, यस्ता साना कार्यक्रमहरूले ठुलो सामाजिक–आर्थिक परिवर्तन ल्याउन सक्छन् ।” महिला बालबालिका लक्षित पोषण सुधार कार्यक्रम अन्तर्गत शिवराज नगरपालिकाको भितरिया, बुद्धभुमि नगरपालिकाको मैटहवा, बाणगंगा नगरपालिकाको ठेकही र मायादेवी गाउँपालिकाको फुलिका गरी ८० घरपरिवारलाई २ हजार ४ सय कोइलर कुखुराका चल्ला प्रदान गरिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?