Butwal Today

आगजनीपछि मन्त्री आवास व्यवस्थापन कहाँ बस्दै छन् अहिलेका मन्त्री

६ बैशाख २०८३, आइतबार
अ+
अ-

काठमाडौं । भदौ २४ गते भएको आन्दोलनका क्रममा ललितपुरको भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवासमा आगजनी भएपछि क्षतिग्रस्त बनेका भवनहरूको पुनर्निर्माणसँगै मन्त्रीहरूको बसोबास व्यवस्थापन फेरिएको छ।

उक्त घटनामा २७ भवनमध्ये २६ वटामा क्षति पुगेको थियो। त्यसपछि तत्कालीन अन्तरिम सरकारका अधिकांश मन्त्रीहरू आफ्नै निजी निवासमा बस्न बाध्य भएका थिए भने एक जना मन्त्री मात्र सरकारी क्वार्टरमा बसेका थिए।हाल भैंसेपाटी स्थित मन्त्री क्वार्टरको पुनर्निर्माण सुरु भएसँगै नयाँ सरकारका मन्त्रीहरूको बसोबास व्यवस्थापन क्रमशः मिलाइँदै छ। बालेन शाह नेतृत्वको वर्तमान सरकारका १५ मन्त्रीमध्ये हाल एक जना मात्र भैंसेपाटीस्थित क्वार्टरमा बसिरहेका छन्।

सहरी विकास मन्त्री सुनिल लम्साल नवनिर्मित भवनमध्ये हाल प्रयोगयोग्य रहेको एकमात्र क्वार्टरमा बस्न थालेका छन्। यसअघि उक्त भवनमा अन्तरिम सरकारका मन्त्री बब्लु गुप्ता बसेका थिए। यता हरिहर भवन स्थित पुराना मन्त्री क्वार्टरमा पाँच जना मन्त्री बस्न थालेका छन्। ती मन्त्रीहरूमा ऊर्जा, गृहमन्त्री, कानुन मन्त्री, शिक्षा मन्त्री र स्वास्थ्य मन्त्री रहेका छन्। यसअघि उक्त भवनहरूमा सर्वोच्च अदालतका केही न्यायाधीशहरू बस्दै आएका थिए, तर खाली रहेका क्वार्टरमा अहिले मन्त्रीहरूलाई व्यवस्थापन गरिएको हो। अन्य मन्त्रीहरू भने अझै आफ्नै निजी घरमा बसिरहेका छन्। उनीहरूका लागि भाडामा घर खोज्ने वा अन्य विकल्पबारे सरकारले तयारी गरिरहेको बताइएको छ।

भैंसेपाटीस्थित मन्त्री क्वार्टरमध्ये हाल ११ वटा भवनको पुनर्निर्माण सुरु भइसकेको छ। बाँकी भवनहरूको निर्माणका लागि पनि प्रक्रिया अघि बढाइएको छ। कुल २७ भवनमध्ये २१ मन्त्रीका लागि, ३ सहायक वा राज्यमन्त्रीका लागि र ३ वटा उच्च पदस्थ पदाधिकारीका लागि छुट्याइएको छ। पहिलो चरणमा गृह र अर्थमन्त्री लगायत बस्ने भवनहरूको पुनर्निर्माण सुरु गरिएको हो। निर्माण कार्य देव गणेश कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ। बाँकी भवनका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको छ र सबै निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?