© 2026
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगर क्षेत्रमा फुटपाथ अतिक्रमण बढ्दै जाँदा पैदल यात्रु प्रभावित बनेपछि सरोकारवालाले त्यसको नियन्त्रणमा सक्रियता देखाएका छन् ।
तिलोत्तमा नगरपालिकाको वैशाख ३ गतेको सूचनालाई आधार मानेर तिलोत्तमा व्यापार सङ्घ (चेम्बर अफ कमर्स) ले फुटपाथमा राखिएका अवैध संरचना, निर्माण सामग्री, ठेलागाडा तथा पसलका सामान हटाउन आग्रह गरेको हो ।
सङ्घको वैशाख ६ गते बसेको बैठकले सडक सीमाभित्र राखिएका यस्ता सामग्रीका कारण पैदल यात्रुलाई आवतजावतमा समस्या हुनुका साथै सहरी सौन्दर्यमा समेत नकारात्मक असर परेको निष्कर्ष निकालेको छ ।
सङ्घका अध्यक्ष नेत्र प्रसाद न्यौपानेले जारी गरेको सूचनामा नगरलाई स्वच्छ, सफा, व्यवस्थित र सुन्दर बनाउने अभियानमा सबै व्यवसायी र घरधनीको साथ आवश्यक रहेको उल्लेख गरिएको छ ।
सूचनामा तोकिएको मितिदेखि ७ दिनभित्र सडक सीमा मिचेर राखिएका सबै सामग्री तथा संरचना सम्बन्धित व्यक्तिले स्वयं हटाउन अनुरोध गरिएको छ ।
अन्यथा नगरपालिकाको नियमअनुसार कारबाही प्रक्रिया अघि बढ्ने सङ्केत गरिएको छ । व्यापार सङ्घले नगर क्षेत्रलाई व्यवस्थित बनाउन सबै पक्षलाई सहयोगका लागि अपिल समेत गरेको छ ।