© 2026
अर्घाखाँची । अर्घाखाँचीमा डिभिजन वन कार्यालयले वन क्षेत्रमा निर्माण गरिएका तर हाल प्रयोगविहीन तथा जीर्ण अवस्थामा रहेका पोखरीहरूको तथ्याङ्क सङ्कलन अभियान सुरु गरेको छ।
पछिल्लो समय गर्मी बढेसँगै वन डढेलोका घटनाहरू पनि बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि दीर्घकालीन समाधान खोज्ने उद्देश्यले यस्तो अभियान अघि बढाइएको हो।
जिल्लाका विभिन्न स्थानमा विगतमा विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट निर्माण गरिएका पोखरीहरू अहिले प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ।
कतिपय पोखरी मर्मत अभावका कारण पुरिँदै गएका छन् भने केहीमा पानी नै जम्मा नहुने अवस्था रहेको छ। यस्ता संरचनाहरूलाई पुनः सञ्चालनमा ल्याउन सके डढेलो नियन्त्रणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास वन कार्यालयको छ।
ती पोखरीहरूको संरक्षण र मर्मतपछि वर्षा याममा पानी सङ्कलन गरी आवश्यक पर्दा डढेलो निभाउन प्रयोग गर्न सकिने डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताएका छन् ।
“वन क्षेत्रमा तत्काल पानीको स्रोत अभाव हुँदा डढेलो नियन्त्रण गर्न कठिन हुन्छ। यदि यस्ता पोखरीहरू सञ्चालनमा ल्याउन सकियो भने स्थानीयस्तरमै पानीको उपलब्धता सुनिश्चित हुनेछ,” उनले बताए।
वन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै जिल्लावासीलाई आफ्ना वरपरका वन क्षेत्रमा यस्ता प्रयोगविहीन तथा जीर्ण पोखरीहरूको जानकारी दिन आग्रह गरेको छ। स्थानीयको सहकार्यमा तथ्याङ्क सङ्कलनलाई तीव्र बनाउने र त्यसपछि प्राथमिकताका आधारमा मर्मत कार्य अघि बढाइने योजना वन कार्यालयकाे छ ।
यस पहलले केवल डढेलो नियन्त्रण मात्र नभई जैविक विविधता संरक्षणमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। पोखरीहरूमा पानी सङ्कलन हुँदा वन्यजन्तुका लागि पानीको स्रोत उपलब्ध हुने, साना जीवजन्तुको वासस्थान सुरक्षित हुने तथा वन वातावरण थप सन्तुलित बन्ने विश्वास गरिएको छ।
स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह तथा सरोकारवाला निकायहरूको समन्वयमा यो अभियानलाई प्रभावकारी बनाइने जनाइएको छ। वन कार्यालयले सबै नागरिकलाई सचेत रहन, वन क्षेत्रमा आगो नलगाउन र डढेलो देखिएमा तुरुन्त सम्बन्धित निकायलाई खबर गर्न पनि अनुरोध गरेको छ।
वन डढेलोका कारण हरेक वर्ष ठूलो क्षति हुने गरेकाले यस किसिमका पूर्व तयारीका कार्यक्रमहरूले दीर्घकालीन रूपमा वातावरण संरक्षण र प्राकृतिक स्रोतको व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।