Butwal Today

विदेशी नम्बर प्लेटका सवारी साधनमाथि कडाइ:दुरुपयोग रोक्न प्रहरीको निर्देशन

२ बैशाख २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । नेपाल प्रहरीले नेपालभित्र सञ्चालनमा रहेका विदेशी नम्बर प्लेटका सवारीसाधनको दुरुपयोग नियन्त्रण गर्न विशेष निर्देशन जारी गरेको छ। प्रहरी प्रधान कार्यालयले राजस्व चुहावट, गैरकानुनी गतिविधि र सुरक्षा जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै देशभरका ट्राफिक प्रहरी तथा राजमार्ग सुरक्षा इकाइलाई कडाइका साथ कानुन कार्यान्वयन गर्न निर्देशन दिएको हो।

प्रहरीका अनुसार विभिन्न नाकाबाट प्रवेश गर्ने विदेशी सवारीसाधनहरू तोकिएको समयभन्दा बढी सञ्चालन हुने, अनुमति अवधि नाघ्ने र व्यावसायिक रूपमा प्रयोग हुने समस्या बढ्दै गएको पाइएको छ।

भन्सार ऐन २०६४ तथा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार विदेशी सवारीसाधन नेपालमा अस्थायी अनुमतिका आधारमा मात्र सञ्चालन गर्न पाइन्छ। तर, उक्त कानुनी प्रावधानको पालना नभएको पाइएपछि प्रहरीले निगरानी बढाएको हो।

निर्देशनअनुसार अब विदेशी नम्बर प्लेट भएका सवारीसाधन देखिएमा भन्सारबाट जारी गरिएको पास वा चलान,अनुमति अवधि,प्रवेश नाका जस्ता विवरण अनिवार्य रूपमा जाँच गरिनेछ। यदि आवश्यक कागजात नभएको वा गम्भीर उल्लङ्घन भेटिएमा त्यस्ता सवारीसाधन तत्काल नियन्त्रणमा लिएर नजिकको भन्सार कार्यालयमा बुझाइने र कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रहरीले यो कदमले विदेशी सवारीसाधनलाई कानुनी दायराभित्र ल्याउने, राजस्व वृद्धि गर्ने तथा सीमा र आन्तरिक सुरक्षा जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?