Butwal Today

महिला राजनीतिकर्मीका लागि लैङ्गिक–उत्तरदायी मिडिया प्रतिबद्धता सार्वजनिक

३० चैत्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ । महिला राजनीतिकर्मीहरूको निष्पक्ष, सन्तुलित र सम्मानजनक प्रस्तुतीकरण सुनिश्चित गर्ने उद्देश्यसहित “लैङ्गिक–उत्तरदायी मिडिया प्रतिबद्धता” सार्वजनिक गरिएको छ। पत्रकार, सम्पादक तथा महिला राजनीतिकर्मीहरूको सक्रिय सहभागितामा तयार गरिएको उक्त प्रतिबद्धताले नेपालमा मिडिया र राजनीति क्षेत्रमा विद्यमान लैङ्गिक असमानता, पूर्वाग्रहयुक्त समाचार प्रस्तुतीकरण तथा अनलाइन हिंसाजस्ता चुनौतीलाई सम्बोधन गर्ने लक्ष्य लिएको छ।

उक्त प्रतिबद्धतामा नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको समानता, अभिव्यक्तिको स्वतन्त्रता, सूचनाको हक तथा राजनीतिक नेतृत्वमा महिलाको अर्थपूर्ण सहभागितालाई आधार मानेर मिडियाले आफ्नो भूमिका अझ जिम्मेवार बनाउनु पर्ने उल्लेख गरिएको छ। साथै, अन्तर्राष्ट्रिय प्रतिबद्धता—जस्तै दिगो विकास लक्ष्य र बेइजिङ प्लेटफर्म फर एक्सन—अनुसार पनि लैङ्गिक समानता प्रवर्द्धनमा मिडियाको सक्रिय भूमिका अपरिहार्य रहेको छ।

महिला राजनीतिकर्मीहरूको निष्पक्ष र सन्तुलित कभरेज

प्रतिबद्धताले महिला राजनीतिकर्मीहरूको कभरेज गर्दा व्यक्तिगत पक्ष—जस्तै बाहिरी स्वरूप, वैवाहिक अवस्था, पारिवारिक पृष्ठभूमि वा पहिरन—भन्दा उनीहरूको नीतिगत योगदान, नेतृत्व क्षमता, दक्षता र कार्यसम्पादनमा आधारित सामग्रीलाई प्राथमिकता दिनुपर्ने स्पष्ट गरेको छ।त्यस्तै, अन्तर्वार्ता, समाचार तथा विश्लेषणात्मक सामग्रीमा महिला नेतृहरूको पर्याप्त प्रतिनिधित्व सुनिश्चित गर्न मिडियालाई आह्वान गरिएको छ। महिला नेतृहरूलाई “सामाजिक” वा “महिला” विषयमा मात्र सीमित नगरी अर्थतन्त्र, शासन, परराष्ट्र नीति र सुरक्षाजस्ता मूलधारका विषयमा पनि समान अवसर दिनुपर्ने उल्लेख गरिएको छ।

अनलाइन लैङ्गिक हिंसाविरुद्ध जिम्मेवार रिपोर्टिङ

प्रतिबद्धतामा महिला राजनीतिकर्मीहरूलाई लक्षित गर्दै बढ्दो अनलाइन लैङ्गिक हिंसा, घृणात्मक अभिव्यक्ति र डिजिटल आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। यस्ता घटनाको रिपोर्टिङ गर्दा पीडित–केन्द्रित दृष्टिकोण अपनाउन, गोपनीयता र मर्यादाको पूर्ण सम्मान गर्न तथा पीडितलाई दोष दिने भाषा प्रयोग नगर्न मिडियालाई सुझाव दिइएको छ। साथै, घटनाको समाचारमा मात्र सीमित नभई यसको संरचनागत कारण, सामाजिक प्रभाव र समाधानका उपायहरूलाई पनि उजागर गर्नुपर्नेमा जोड दिइएको छ। महिला पत्रकारमाथि हुने अनलाइन हिंसालाई समेत मिडियाले आफ्नै दायित्वभित्र राखेर संवेदनशील रूपमा कभरेज गर्नुपर्ने उल्लेख छ।

गलत सूचना र डिजिटल आक्रमण नियन्त्रणमा कडाइ

लैङ्गिक–पूर्वाग्रहयुक्त गलत सूचना, ट्रोलिङ, डक्टर गरिएको फोटोरभिडियो तथा भ्रामक सामग्रीको प्रभाव रोक्न मिडियाले कडा सम्पादकीय नीति अपनाउनुपर्ने प्रतिबद्धतामा उल्लेख छ। प्रकाशनअघि र प्रकाशनपछि दुवै अवस्थामा तथ्य–जाँच प्रणालीलाई सुदृढ बनाउन तथा हानिकारक सामग्रीलाई रोक्न आन्तरिक निर्देशिका बनाउनुपर्नेमा जोड दिइएको छ।

सामाजिक सञ्जालमा शून्य सहनशीलता नीति

मिडिया संस्थाहरूले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्ममा महिला विरोधी अभिव्यक्ति, घृणास्पद भाषण तथा लैङ्गिक अपमानजनक सामग्रीप्रति शून्य सहनशीलता नीति अपनाउने प्रतिबद्धता जनाएका छन्। त्यस्ता टिप्पणीहरूलाई अनुगमन गरी तुरुन्त हटाउने, सम्मानजनक संवाद प्रवर्द्धन गर्ने र सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ।

तालिम, अनुगमन र नीतिगत सुधारमा जोड

प्रतिबद्धताले मिडिया संस्था तथा नियमन निकायहरूलाई अनलाइन सुरक्षा, ट्रमा–सचेत पत्रकारिता तथा डिजिटल जोखिम व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्न आग्रह गरेको छ। साथै, महिला प्रतिनिधित्वको नियमित अनुगमन, लैङ्गिक अडिट तथा भेदभावपूर्ण प्रवृत्तिहरूको अभिलेख राखी सुधारका लागि आवश्यक सुझाव मिडिया हाउसहरूलाई उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ। गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पत्रकार, सम्पादक तथा महिला राजनीतिकर्मीहरूसँगको परामर्शबाट तयार गरिएको उक्त प्रतिबद्धताले मिडियालाई अझ जिम्मेवार, समावेशी र लोकतन्त्र–मैत्री बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिबद्धता सार्वजनिक गर्दै सरोकारवालाहरूले महिलाको अर्थपूर्ण राजनीतिक सहभागिता बढाउन मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन्। निष्पक्ष, सन्तुलित र लैङ्गिक–संवेदनशील पत्रकारितामार्फत लोकतन्त्र सुदृढ बनाउन सकिने विश्वाससमेत व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?