© 2026
काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। आइतबार साँझ सार्वजनिक विवरणअनुसार गृहमन्त्री सुधन गुरुङसँग ४ करोड ३१ लाख ५६ हजार २०० रुपैयाँ बराबरको सेयर लगानी रहेको देखिएको छ।
विवरणअनुसार गुरुङको आफ्नै नाममा होप होल्डिङ्स प्रालिको ३० हजार थान सेयर (खरिद मूल्य ३० लाख), लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको ५७ हजार थान सेयर (खरिद मूल्य ५७ लाख), एडभेन्चर भिल्ला प्रालिको ७० हजार थान सेयर (खरिद मूल्य ७० लाख) रहेको छ। साथै, धितोपत्र बजारमा कारोबार हुने सेयरमा २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबरको लगानी रहेको छ। यी सबै सेयर व्यवसायिक आम्दानी र पैत्रिक सम्पत्तिबाट खरिद गरिएको गुरुङले उल्लेख गरेका छन्।
त्यस्तै, गृहमन्त्री गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको विवरणमा उल्लेख छ। नगद मौज्दाततर्फ उनको खातामा ६१ लाख रुपैयाँभन्दा बढी रकम रहेको देखिएको छ। लक्ष्मी बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ र सानिमा बैंकमा १ हजार ५७४ रुपैयाँ मौज्दात रहेको छ। लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको नाममा ४७ लाख ९९ हजार रुपैयाँ मूल्यको सवारी साधन गएको असोज महिनामा खरिद गरिएको पनि खुलेको छ।
जग्गा–जमिनतर्फ, गुरुङको आफ्नै नाममा धनकुटाको कार्कीछापमा १९ रोपनी १५ आना जग्गा रहेको छ भने उनका पिताको नाममा चितवनको भरतपुर–१८ मा ३० कट्ठा र बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।