Butwal Today

ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही

२९ चैत्र २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का क्रममा आज एकैदिन एक सय एक सवारी चालकलाई कारबाही गरेको छ ।

उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत मादक पदार्थ (मापसे) सेवन तथा ट्राफिक नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।

त्यस क्रममा मापसे गरी सवारीसाधन चलाउने पाँच जना, रातो बत्ती उल्लङ्घन गर्ने दुई र लेन अनुशासन पालना नगर्ने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ९४ वटा सवारीसाधनका चालकलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, “मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य हो । यसले चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको ज्यान जोखिममा पार्दछ । सवारी चलाउँदा सावधानी अपनाऔँ । अकालमै ज्यान जानबाट जोगिऔँ।”

यदि चालकले मादकपदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन पनि उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?