© 2026
सुनवल । पटक पटकको ताकेता पछि पश्चिम नवलपरासीको रामग्राममा अलपत्र पुलको काम अगाडि बढेको छ । प्रतिबद्धता अनुरूप सरावलमा सडक निर्माणको काम अलपत्र अवस्थामै छ ।
प्रदेश सरकारको लगानीमा निर्माण थालिएका आयोजनाको काम अलपत्र हुँदा स्थानीयले सास्ती भोग्न बाध्य भएपछि जनप्रतिनिधिहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
त्यसपछि लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल सहितको टोली परासी आएर स्थानीय जनप्रतिनिधि, सम्बन्धित आयोजनाका ठेकेदार लगायत सरोकारवालापक्ष संग गत कार्त्तिक महिनामा अलपत्र योजनाको काम तत्काल अगाडी बढाउने विषयमा छलफल गरेको थियो ।
छलफलका क्रममा एक हप्ता भित्र पुल र सडकको काम अगाडि बढाउने दुई वटा ठेकेदार कम्पनीले लिखित प्रतिबद्धता जनाए पनि सडकको काम अगाडि बढ्न सकेको छैन । तर पुलको काम भने धमाधम भइरहेको छ ।
रामग्राम–१५ स्थित तुरिया खोलामा लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण थालिएको पुल समयमै निर्माण नसकिँदा विगत तीन वर्ष देखि अलपत्र थियो ।
पटक पटकको ताकेता पछि निर्माण कम्पनी ओम ईन्फाटेक प्रा.लीले पुल निर्माणको काम गरिरहेको छ । बालुवा जम्मा भएर पुलको सुरुमा गरिएको डिजाइन फेल भए पनि थप उचाइ बढाएर पुल निर्माण भइरहेको छ ।
रामग्राम नगरपालिकाका नगर प्रमुख यादवले सो क्षेत्र हुँदै बुहआयमिक महत्वको सडक निर्माण भइरहेकाले पुलकै कारण दातृ निकायले गरेको लगानी रोकिने जोखिम बढेको बताउँदै प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।
२०७७ सालमा निर्माण सुरु भएको उक्त पुल डेढ वर्षमा निर्माण सकिनुपर्ने भए पनि हाल सम्म पुरा भएको छैन । सो पुल हुँदै रामग्रामको पोखरापाली देखि ऐतिहासिक तथा पर्यटकीय स्थल पण्डितपुर सम्म जोड्ने फराकिलो सडक निर्माण भइरहेको छ ।
सोही सडक खण्डको बिचमा पर्ने पुल अलपत्र भएपछि आउजाउमा कठिनाइ हुनुका साथै सडक निर्माणमा सहयोग गरेको एसियाली विकास बैङ्क एडिबीले पनि चासो राख्दै आएको थियो ।
जसका कारण नगर प्रमुख यादवले पटक पटक प्रदेश सरकारलाई पुलको काम छिटो सम्पन्न गर्न ध्यानाकर्षण गराएको बताए ।
आगामी वर्षायाम अगावै पुलको एउटा स्ल्याब ढलानको काम सम्पन्न हुने प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय परासीका प्रमुख हितेन्द्र रायमाझीले जानकारी दिए । बाँकी काम बजेटको समय अभाव भएकाले आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने तयारी छ ।
उता सरावलमा अलपत्र दुई वटा सडक आयोजनाको निर्माण पनि तत्काल सम्म गर्ने प्रतिबद्धता ठेकेदारले जनाए पनि हाल सम्म काम पुरा भएको छैन ।
सरावल गाउँपालिका जोड्ने पहुँच मार्गको काम गत मङ्सिर दश गते भित्र सम्पन्न गर्ने प्रतिबद्धता नवीन कन्स्ट्रक्सन नवलपरासीले गरेको भए पनि हाल सम्म पुरा भएको छैन । सरावल गाउँपालिका जोड्ने पहुँच मार्गको म्याद तीन वर्ष अगाडी नै सकिए पनि हाल सम्म काम पुरा भएको छैन ।
२०७९ सालको असारमै म्याद सकिएको उक्त आयोजनाको म्याद थप समेत भएको छैन । सो सडक आयोजनाका कारण स्थानीय देखि प्रदेश सरकारका जनप्रतिनिधिले आलोचना खेप्नुपरेको छ ।
सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जति काम गरेपनी सोही सडकका कारण सबै बालुवामा पानी सरह भएको गुनासो गरे ।
यसै गरी सरावलकै तुल्सीनगर–तिलकपुर खोकरपुरा–पटनी–भिमटाडी सडकको म्याद पनि तीन वर्ष अगाडी नै सकिएको हो । उक्त सडक पनि हाल सम्म अलपत्र अवस्थामा छ ।
सो सडकको काम पनि तत्काल सुरु गर्ने प्रतिबद्धता ठेकेदारले गरे पनि काम पुरा भएको छैन । पटक पटक प्रतिबद्धता जनाउने तर काम नगर्ने प्रवृत्तिले जनाताले सास्ती खेप्न बाध्य छन् ।
मन्त्रीको उपस्थितमा सिङ्गो मन्त्रालयको टोली आएर गरेको छलफलबाट तत्कालै काम सुरु हुने भन्दै ढुक्क हुन आग्रह गरेका मन्त्री ढकाल त्यसपछि यस क्षेत्रमा आएका छैनन् ।