Butwal Today

बटौलीको विकासमा नयाँ सरकारको ध्यानाकर्षण होस

२९ चैत्र २०८२, आइतबार
अ+
अ-

इतिहासको एक कालखण्डमा सवल र समृद्ध शहरका साथै व्यापारिक नाकाको रूपमा रहेको बटौली बजार (हाल बुटवल उपमनपा—१) एउटा सेन राजाको गौरवमय गाथा बोकेको क्षेत्र हो ।

दुई दुईपटक नेपाल र अग्रेज सेनावीच भएको युद्ध र विजय क्षेत्र (जीतगढी र नुवाकोटगढी), कलकत्ता एव बंगाल र तिव्वत (हिमालय क्षेत्र) वीच व्यापार हुँदा प्रयोग गरिएका सम्पदायुक्त घरहरू रहेको क्षेत्र हो ।

सेन राजाहरूको दरवार रहेको क्षेत्रका साथै झण्डै अढाइसय बर्ष अगाडी निर्माण गरिएको मननारायण मन्दिर, भैरव मन्दिर, गणेश मन्दिर जस्ता धार्मिक सम्पदा रहेको जीवन्त संग्रहालय रहेको क्षेत्र र मध्यकालीन सहर संरचनामा बनेको बजार र पुराना सम्पदायुक्त घरहरू रहेको क्षेत्र अहिले उपेक्षित रहेको छ ।

यसर्थ यस क्षेत्रलाई विशेष ऐतिहासिक क्षेत्रको रूपमा घोषणा गर्न जरुरी देखिन्छ । नयाँ सरकारद्धारा नयाँ अवधारणामा बटौलीका वारेमा नयाँ कदम चालोस् भन्ने अपेक्षा रहेको छ ।

जितगढी किल्लाः
वि.स १८७१ र १०७२ मा भएको सफल नेपाल अग्रेज युद्धको निशानीको रूपमा रहेको बुटवलको जितगढी सैनिक इतिहासकालागि मात्र होइन, सेना र नागरिकको संयुक्त पहलवाट आधुनिक हतियार सुसज्जीत अंग्रेज सेनालाई नेपाली घरेलु हतियारवाट हराएको उदारण पनि हो, जीतगढी युद्ध ।

यसर्थ अन्य गढी भन्दा भिन्न इतिहास वोकेको यस किल्ला अहिले पार्कको रूपमा बदलिएको छ । ऐतिहासिक किल्ला संरक्षणको मान्यता बाहिर गएर फलामे पार्क वनाइएको छ ।

आजका पिडीलाई अनौठो र जिवन्त किला वा गढी देख्न पाउने अवसरवाट बन्चित बनाइनु हुँदैन । यसको वनोट, वैज्ञानिक सुरक्षा व्यवस्था र सोही अनुरूपका संरचनाको अध्ययन एवं अनुसन्धानका लागि बाटो बन्द गरिएको छ ।

यहाँवाट फूलवारीमा जाने भनिएको सुरुङको खोजी हुन नसक्ने अवस्थामा छ । यो एउटा महत्वपूर्ण सम्पदा हो जसलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न सकिन्छ । बर्षेनी हजारौको संख्यामा अध्येताहरू आउन सक्ने क्षेत्र पनि हो । यसर्थ यसको पुरानै स्वरूप (फलामे संरचना हटाइ) र विस्तारित क्षेत्र कायम गर्न जरुरी छ ।

मणिमुकुन्द सेन दरबारः

हाल मणिमुकुन्द सेन पार्कको रूपमा रहेको फूलवारी क्षेत्र मुकुन्द सेनद्वारा निर्माण गरिएको गृष्मकालीन दरवार रहेको क्षेत्र हो । पाल्पाका राजा मणिमुकुन्द सेन प्रथमका समयमा निर्माण गरिएको दरवारको भग्नावशेष रहेको छ ।

यो भग्नावशेषको पनि संरक्षण हुन सकेको छैन । यो दरवारको स्वरूप कस्तो थियो भन्ने जानकारी समेत राखिएको पाइदैन । पाल्पाको रिब्दीकोटमा मुख्य दरवार भएपनि समयसमयमा यही दरवारमा बसेर सेनहरूले बुटवल क्षेत्रबाट उठ्ने राजश्व उठाउने, व्यापारको अवस्था बुझ्ने र तात्कालिन अवस्थामा छिमेकका राज्य प्रशासकहरूका अवस्था र रणनीति बुझ्ने काम गर्दथे ।

भारतका स्वामीनारायण समेत यही दरवारमा करिव ५ महिना वसेर आफ्ना विचार र आध्यात्मिक विचार प्रवाह गरेको बताइन्छ । यो महत्वपूर्ण दरवार इतिहास र संस्कृतिको एउटा महत्वपूर्ण थलो भएपनि यसलाइ महत्व दिइएको पाइदैन ।

यस दरवारको सुरक्षा वा संरक्षण र यसको नजिकै यस्तै नमूना दरवारको निर्माण गर्न सकेको खण्डमा सेनकालिन इतिहासका वारेमा अध्ययन गर्न, अवलोकन गर्न आकर्षक थलो बन्ने देखिन्छ ।

साथै फूलवारी क्षेत्रमा रहेका विभिन्न अनावश्यक सम्पदा विरुद्धका संरचना, विभिन्न राजनीतिक दलका झण्डा अंकित संरचना देखिएका छन् । त्यस्ता संरचना यस्तो ऐतिहासिक स्थलवाट तत्काल हटाउन जरुरी छ ।

फूलवारीलाई आकर्षक बनाउन, हर्बल गार्डेन, मेडिस्नल प्लान्टका गार्डेन, चराचुरुङ्गी र जनावर हेर्ने थलो लगायतका व्यवस्था गर्न सके बुटवल लगायत अन्य क्षेत्र र विशेषगरी भारतीय पर्यटकका लागि आकर्षण थप्ने देखिन्छ ।

बुटवल, भैरहवाका वासिन्दालाई जरुरी वा आवश्यक देखिएको एक पार्कको रूपमा समेत विकास हुनेछ । गर्मी बढेको समयमा सितलताका लागि यस क्षेत्रका मानिसहरूका लागि गतिलो गन्तव्य समेत बन्नेछ । त्यसैगरि फुलबारीको सेनकालीन दरवार र जीतगढी एउटा सुरुङवाट जोडिएको छ भन्ने भनाइ छ । यहीवाटै युद्धका बखत हतियार र रसदपानीको व्यवस्था गरिन्थ्यो भनिन्छ । यो खोजी गरी खुलाउन सकेको खण्डमा एउटा आकर्षक गन्तव्य बन्न सक्छ ।

मननारायण मन्दिरको जग्गा खोजीः

विस १८६४ मा तत्कालिन राजा गीर्वाणयुद्ध विक्रम साहले पाल्पाका तैनाथवाला अमरसिंह थापा मार्फत मनीराज फौजदार (मास्के) द्वारा बुटवल स्थित (हाल बुटवल उपमहानगरपालिका वडा नं.१) निमचोक नजिकै श्री ७ मननारायण मन्दिर स्थापना गरेको शिलालेखमा अकिंत छ ।

मनीराजद्वारा मन्दिरको नियमित सञ्चालन, व्यवस्थापन, मर्मत सम्हार, पूजारी र पूजा एव जात्रा प्रयोजनकालागि मन्दिर क्षेत्र वरीपरि र विनायकपुरमा रहेको जग्गा गुठीको रूपमा व्यवस्था गरेको देखिन्छ ।

विभिन्न अध्येता, अनुसन्धानकर्ता, इतिहास तथा संस्कृति सम्वद्धहरूद्धारा लेखिएका पुस्तक तथा लेखहरूमा उल्लेख गरिए अनुसार मन्दिरमा रहेका नारायण र लक्ष्मी लगायतलाई लगाईदिएका गरगहना हिरा, मोती लगायत प्रसस्त रहेको देखिन्छ । तर एउटा लामो इतिहास रहेको सो मन्दिरका सवै सम्पत्तिको वारेमा अभिलेख कही कतै फेला पर्दैन ।

यस्तो अवस्थाले हाम्रा पुराना इतिहास, संस्कृति बोकेका सम्पदाहरूको अवस्था के होला भन्ने सहज अन्दाज गर्न सकिन्छ । यसकालागि मन्दिरमा नित्यपूजा, आरती प्रारम्भ, तिनाउ नदी किनारमा आरती स्थल र फल्चा वा पौवा निर्माण गर्ने, हरेक वर्ष नारायणको रथ यात्रालाई व्यापक बनाइ बुटवल वजार र मणिग्रामसम्म पु¥याउन रथको व्यवस्था गर्ने र बुटवल बजारलाई सो दिन नारायणमय बनाउने, मन्दिर परिसरमा फल्चा निर्माण, भक्तजनहरूका लागि आवास र भण्डाराको व्यवस्था मिलाउने, गुठी जग्गाको पूर्ण खोजी गरी व्यवस्थित गरी गुठी जग्गावाट कुत व्यवस्था नियमित गर्ने र मालपोत कार्यालयमार्फत गुठी संस्थानमा आउने रकम मन्दिर क्षेत्रको विकास, आस्था विस्तार र पुजा व्यवस्थामा परिचालन गर्ने, मन्दिर परिसर, मन्दिरको नाममा रहेका चल अचल सम्पत्तिको मन्दिरकै लागि उचित प्रयोग र परिचालनका लागि बृहत गुरुयोजना तयार पारी कार्यान्वयनमा ल्याउन जरुरी देखिन्छ ।

नुवाकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने:

बुटवलको शिरमा रहेको एतिहासिक नुवाकोट गढी (जहाँ तत्कालिन पाल्पा राज्य र एकिकरण पश्चात नेपाली सेना रहने स्थान) उचाइमा रहेको स्थान हो । चिसो मौसम र खुला मनोरम दृष्यावलोकनका लागि प्रख्यात थलो पनि हो ।

रूपन्देही लगायत अन्य जिल्ला र भारतीयहरूका लागि समेत शितलता संगै मनोरन्जनको अनुभूति गर्ने स्थान हो तर यो पाल्पा जिल्ला (तिनाउ गापा) को क्षेत्रमा पर्ने भएपनि यो बुटवल उपमनपाको लगानीमा केही आकर्षण थप्ने र संरचना निर्माण गर्ने कार्य भएको छ ।

सिद्धार्थ केवलकार समेत सञ्चालनमा रहेको यस क्षेत्रलाई एउटा बृहत गुरुयोजना सहित विस्तृत परियोजना तयार पारेर जान आवश्यक देखिन्छ । यसले बुटवलको पर्यटक (आन्तरिक तथा बाह्य) का लागि आकर्षक र महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

बटौलीलाई सम्पदा शहर नामाकरणः

बटौली बजारको नामले इतिहासमा नामाकंन भएको यो बजारले नै हालको बुटवलको आर्थिक र व्यापारिक महत्व बढाएको हो । हिजो यो महत्वपूर्ण व्यापारिक केन्द्र थियो, सांस्कृतिक केन्द्र थियो र यो एक पाल्पा राज्यलाई सवल प्रशासनिक रूपमा संगठित राज्य बनाउन मद्दत गरेको स्थान पनि हो ।

यो नाका भारत (कलकत्ता, बंगालसम्म) र हिमालय क्षेत्र (उत्तर तर्फका वाइसे चौविसै राज्य एवं तिव्वत) सम्म व्यापार गरिने नाका थियो । तराईका उर्वर क्षेत्र भएकोले पाल्पा राज्यको कर संकलनको मुख्य केन्द्र पनि यही नै थियो ।

झण्डै सोही समयदेखि बनेका पुराना घरहरू रहेको सम्पदायुक्त बजार पनि हो । हाल यहाँका त्यस्ता घरहरू भत्किदैछन् वा भत्काइदै छन् तर नपा, पुरातत्व विभाग, प्रदेश सरकार यसका पक्षमा कुनै कदम चालेको देखिदैन । व्यापारिक हिसावले र सामरिक हिसावले तथा इतिहासका हिसावले यो वजार निकै महत्वको छ ।

यहाँका कतिपय घरहरू संरक्षण गरी सम्पदायुक्त राख्न सकेको खण्डमा होमस्टे, होटल रेष्टुरेन्ट सञ्चालनमा आउने देखिन्छ । बजार क्षेत्रमा नो भेइकल जोन, ढुगाछापेका बाटोहरू बनाउन आवश्यक देखिन्छ ।

जसवाट बजारमा नयाँ चहलपहल बढ्ने सम्भावना रहेकोछ । यो वजार संरचना मध्ययूगिन शहर संरचनामा रहेको देखिन्छ । यसर्थ यस बजारलाइ सम्पदा शहरको रूपमा नामाकरण गरी परिचयमा ल्याउन सके बजारको हिजोको इतिहासले न्याय पाउने थियो ।

तिनाउ नदीमा जलासय निर्माण गर्नेः
इतिहासमा तिनाउ नदीलाई तिलोत्तमा नदीको नामले चिनिन्थ्यो । यो नदीको मुहान पाल्पा क्षेत्र हो । तुलनात्मक रूपमा स्वच्छ र सफा नदी पनि मानिन्छ ।

बुटवलको सिमाना, पहाडको फेदीसम्म रहेको र यस क्षेत्रमा केही मात्रामा बजार क्षेत्र रहेकोले सो क्षेत्रमा नदीका दुवै किनारामा ढलको व्यवस्था गरी सानो ड्याम निर्माण गर्ने हो भने यस क्षेत्रमा स्वच्छ र सफा पानीको नमूना ताल बन्ने थियो ।

नदीका दुइ किनारामा रिजोर्ट, रेष्टुरेन्ट सहितका पार्कहरू, मनोरन्जनात्मक स्थलहरू, मर्निङ र इभिनिङ वाल्क मात्रै होइन वाल र बृद्धाकालागि आवश्यक रमाउने, समय व्यतित गर्ने पार्कहरू निर्माण हुने थियो ।

वोटिङ, फिसिङ, स्विमिङ लगायतका अवसर सिर्जना हुने थिए । एउटा व्यवस्थित शहरकालागि आवश्यक आधारभूत व्यवस्थाहरू समेत यसले पूरा गर्ने थियो । बाँधका कारण बुटवल बजार लगायत तलका भूभागहरूमा जमिनहरूमा घट्दै गएको भूमिगत जलसतहमा आवश्यक पानी रिचार्ज हुने सम्भावना पनि देखिन्छ ।

यसकालागि एउटा गुरुयोजना तयार पार्न जरुरुी देखिन्छ । बुटवलको बढ्दो आवादीलाई व्यवस्थित गरी व्यवस्थित आधुनिक शहरको कल्पना (निकट भविष्यको महानगर) लाई सम्वोधन गर्न यस कार्यमा आजैदेखि ध्यान पु¥याउन जरुरी छ । यसवाट नयाँ आर्थिक कृयाकलाप थपिने र नपाको अर्थतन्त्रलाई समेत बल पुग्नेछ । बुटवललाई आर्थिक केन्द्र वनाउने पहलमा यो एक महत्वपूर्ण आधार बन्नेछ ।

तिनाउ नदिमाथी सिग्नेचर व्रिजः
पूर्व पश्चिम राजमार्ग खण्डको बुटवल तिनाउ नदीमा आधुनिक पुल निर्माणको पहल भैरहेको छ । यहाँ बन्ने पुल (आर्क व्रिज) लाई सिग्नेचर व्रिज भन्नेगरी बाहिर समाचारहरू आएका छन् ।

बास्तवमा सिग्नेचर व्रिजले त्यहाँको पहिचान झल्काउने गर्दछ तर अहिले सार्वजनिक गरिएको नमूनाले यो पूरा गर्न सक्दैन । यसर्थ यहाँ बन्ने पुलले बुटवल क्षेत्र आधुनिक बजार वा सभ्यता र बटौली क्षेत्र वा एतिहासिक क्षेत्रलाई पहिचान दिने गरी डिजाइन गरी निर्माण गरियो भने मात्र त्यो बुटवलको सिग्नेचर बन्नेछ । यसले नयाँ आकर्षण थप्नेछ ।

पुलको मध्यभाग सम्म आधुनिकता र मध्य पश्चिम तर्फ इतिहासलाइ सम्वोधन गरी पुल बनाउन उपयुक्त देखिन्छ । संसारका जुनसुकै स्थानवाट सो पुलको फोटो देख्ने जो कोहीले पनि सहजै अनुमान लगाउन सकोसकी यो बुटवलको पुल हो । यसवाट बुटवलको नाम र बुटवलमा पर्यटन दुवै विस्तार हुनेछ ।

बांदर नियन्त्रण एवं व्यवस्थापनः
बटौली बजार पहाड र जंगलको फेदीमा रहेकोले यहाँ बाँदरको निकै समस्या रहेको छ । बाँदर नियन्त्रणका लागि केही व्यवस्थापकीय कार्य अवलम्वन गर्न सकियो भने यो पिडावाट यहाँका वासिन्दाले राहत पाउने थिए ।

यसकालागि बजारमाथि रहेको जंगल र फूलवारी क्षेत्रमै बाँदर अल्मलिने गरी फलफूलका विरुवा रोपण, सामुदायिक वनको छटानी कटानीका क्रममा साना फूल्ने र फल लाग्ने बोट विरुवाहरूको संरक्षण र थप रोपण एवं विभिन्न खाद्यवालीहरू छर्ने गर्न सकेको खण्डमा बाँदरको बजार आगमनमा न्यूनीकरण गर्न सकिन्छ ।

नुवाकोट डाँडा क्षेत्रबाटै यस्तै र अन्य सम्भाव्य उपायहरू अवलम्वन गर्न जरुरी देखिन्छ । नुवाकोट र फूलवारी क्षेत्रमा बाँदर अवलोकन र बाँदरसंग रमाउने अवस्था बनाउन सक्नुपर्दछ । यो एउटा नमूना अभ्यास हुनेछ र अन्यत्र सामना गर्न परिरहेको यो समस्या समाधानकालागि यहाँको उपाय र व्यवस्थापन अनुकरणिय बन्न सक्दछ ।

यस्ता गतिविधि तथा विषय र क्षेत्रहरूले बटौली क्षेत्रलाई यो विशेष क्षेत्र हो भन्ने चित्रण गर्दछन् । यसर्थ यस्ता क्षेत्र समेटेर बटौलीलाई विशेष ऐतिहासिक क्षेत्र घोषणा गर्ने र नेपाल सरकारको पहलमा नपा र प्रदेश सरकारलाई पनि सहकार्यमा सामेल गरी नमूना एवं सृजनशील अभ्यास प्रारम्भ गर्न सकिन्छ ।

सम्वद्ध पक्षहरूको समयमै ध्यान जान जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?