Butwal Today

दण्डहीनता नियन्त्रणमा ध्यान जाओस्

२९ चैत्र २०८२, आइतबार
अ+
अ-

मुलुकमा लामो समयदेखि जकडिएर बसेको दण्डहीनताले अझै उखेलिन मानिरहेको छैन । विगतको राजनीतिक अस्थिरताले फेरी पनि निरन्तरता पाउने हो कि भन्ने चिन्ता भइरहेको छ ।

मुलुकमा नयाँ सरकार बनेको छ तर जनतामा नयाँ सरकारप्रति विश्वास जागृत हुन सकेको छैन । जुन सरकार आए पनि उस्तै भन्न थालिएको छ । विगतमा जसरी अस्थिरताको कारण दण्डहीनताले प्रश्रय पायो, फेरी पनि त्यही अवस्था दोहोरिने चिन्ता बढिरहेको छ ।

निर्मला पन्तले न्याय पाउने कुरा नयाँ सरकार बनेको एक दुई दिन खुबै चर्चामा रह्यो । दिनहरू वित्दैछन् निर्मला पन्तले न्याय पाउने कुरा टाढिँदै गएको अवस्था छ । गृहमन्त्रीलाई पत्रकारहरूले यही प्रश्न सोधिरहन्छन तर जवाफ आउन छोडेको छ । कतै मुलुकमा फेरी अराजकता र अस्थिरता निम्तिने त होइ भन्ने चिन्ता बढिरहेको छ ।

निश्चितरूपमा मुलुकमा उत्पन्न हुने अस्थिरताको प्रभाव देशको सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक हरेक क्षेत्रमा पर्दछ । अहिलेको विद्यमान अवस्थालाई नियाल्ने हो भने राजनीतिक अस्थिरताकै कारण नेपाली समाज विषम परिस्थितिमा खडा भएको छ ।

जसको फलस्वरूप पछिल्ला दिनहरूमा नेपाली समाजमा हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधहरू दिन–प्रतिदिन तीव्ररूपले बढेर गइरहेका छन् । अहिले हरेक सञ्चार माध्यममा हत्या, हिंसा, बलत्कार, अपहरणजस्ता अपराधका समाचारहरूले प्रमुखता पाइरहेका छन् ।

समाजमा अराजकताले प्रभुत्व जमाइरहँदा विकृति तथा विसंगतिले पराकाष्ठा नै नाघिसकेको छ । भन्न पनि लाज मान्नेगरि समाजमा दुई तीन वर्षका कलिला बालबालिकादेखि वृद्धाहरूमा हुने यौन हिंसा–हत्या, आफ्नै हाडनाताभित्र अनि मानसिक सन्तुलन गुमाएका र अशक्तहरूमाथि हुने गरेका यौन हिंसा, हत्या तथा धर्मगुरुहरूले आफ्ना शिष्यमाथि गर्ने गरेको क्रियाकलापका घटनाहरू आइरहेका छन् ।

यस्ता घटनाबाट प्रस्ट हुन्छ कि समाजमा संस्कारयुक्त नैतिक शिक्षाको दिन–प्रतिदिन कमी हुँदै गएको छ । साथै समाजमा राक्षसरूपी मानव सभ्यताको विकास हुँदै गएको छ । राजनीतिक अस्थिरतासँगै विकास हुँदै गएका यस्ता घटनाले समाज तथा मानिसको जीवनमा कस्तो किसिमको असर पार्दछ भन्ने खोज्न अन्त जानै पर्दैन ।

ललितपुरमा सामान्य भनाभनले झडपको रूप लिँदा एकै घरका दुई दाजुभाईको हत्या भएको छ । दैलेखमा एक युवकलाई स्थानीयले लखेटीलेखटी चक्कु प्रहार गरेका छन । पछिल्ला यी घटनाले मुलुकमा दण्डहीनता बढ्ने चिन्ता थपिएको छ । समाज कहाँ गैरहेको छ ? आज मानिस किन यति क्रुर भइरहेको छ ? चिन्ता थपिएको छ ।

समाजमा हुने गरेका हत्या, बलात्कार र विभिन्न अपराधजन्य घटनाले समाजमा दण्डहीनता दैनिकजस्तो बढिरहेको अनुभव गर्न सकिन्छ । कतिपय घटनामा प्रहरीले पीडितको उजुरीसमेत नलिएको पनि देखिएको छ ।

दिन–प्रतिदिन जघन्य अपराधका घटना सार्वजनिक भैरहँदा महिला, बालबालिका, किशोरी तथा वृद्धाहरू कतिसम्म सुरक्षित छन् भन्ने कुरा उजागर भएको छ ।

समाजमा अहिले यतिसम्म विकृति फैलिएको छ कि कुनै महिला मात्र नभएर कुनैपनि व्यक्ति घरबाट सकुसल बाहिर आफ्नो काम गर्नका लागि निस्केपछि घर फर्किंदा सकुसल फर्किन्छ कि फर्किंदैन भन्ने पिरले हाम्रा घरका व्यक्तिहरू पिरोलिरहनुपर्ने अवस्था छ ।

त्यसमाथि बालिकाहरूलाई साँझमा घरबाट निस्कन समेत समस्या पर्न थालेको छ । कुन बालिका कतिखेर बलात्कारको शिकार हुन्छिन भन्ने कुराको अत्तोपत्तो नहुने अवस्था छ । विभिन्न लोभलालचमा राखी वा पीडित पक्षलाई अझ डर, त्रास, धाक धम्की देखाएर पनि यस्ता जघन्य अपराधका घटनाहरू बाहिर नल्याउने परिपाटीको विकास भएको छ ।

यसले गर्दा बलात्कारबाट वास्तविक पीडित नागरिकको संख्या बाहिर आउन सकिरहेको अवस्था छैन । समाजले आफूप्रति गर्ने व्यवहार एवं भविष्यप्रतिको चिन्ताका कारण पनि यस्ता घटना समाजमा गुमनाम नै रहने गरेको छ ।

अव भने यस प्रकारका जघन्य अपराध नियन्त्रणमा सम्वन्धित निकायको ध्यान जाओस् । नयाँ सरकारले दण्डहीनता नियन्त्रणमा ध्यान देओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?